आर्थिक मामिला मन्त्री मल्ललाई वडा अध्यक्ष मलासीको ज्ञापन पत्र, खप्तड इन्जिनियरिङ्ग कलेजमा ६ करोड बजेट माग
भाद्र ८, डोटी ।
डोटीको दिपायल सिलगढी नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष नरेश मलासीले सुदूरपश्चिम प्रदेशका नव नियुक्त आर्थिक मामिला मन्त्री चक्र बहादुर मल्ललाई खप्तड इन्जिनियरिङ्ग क्याम्पसको पुर्वाधार निर्माण गर्न बजेट माग गर्दै ज्ञापन पत्र बुझाएका छन् ।
डोटी जिल्ला सदरमुकाम सिलगढीमा स्थापना हुन लागेको त्रिभुवन विश्वविद्यालय अन्तर्गतको इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) खप्तड इन्जिनियरिङ्ग क्याम्पसको लागि सुदूरपश्चिम प्रदेश सरकारसँग ६ करोड रुपैयाँ बजेट मागसहित ज्ञापनपत्र बुझाएका हुन्।
यसैगरी सोही माग सहित क्याम्पसका परियोजना संयोजक दिलानन्द जोशीले चालु आर्थिक वर्ष २०८३/०८४ को बजेट तथा कार्यक्रममा सम्बोधन गरिदिन आग्रह गर्दै मन्त्री मल्ललाई औपचारिक पत्रसमेत बुझाइएको छ।
त्रिभुवन विश्वविद्यालयले प्रत्येक प्रदेशमा कम्तीमा एक आंगिक क्याम्पस सञ्चालन गर्ने नीति अनुसार वि.सं. २०८० मा सम्पन्न विश्वविद्यालय सभाले डोटीको सिलगढीमा ‘खप्तड क्याम्पस’ स्थापना गर्ने निर्णय गरेको थियो। सोही निर्णयअनुसार सिलगढीमा क्याम्पसको परियोजना कार्यालयसमेत स्थापना भइसकेको छ।
तर, आवश्यक भौतिक पूर्वाधार निर्माणका लागि बजेट अभाव हुँदा क्याम्पसको आफ्नै संरचना निर्माण हुन नसकेकाले स्नातक तहका कक्षा सञ्चालनमा आउन सकेका छैनन्।
क्याम्पसका लागि प्रशासनिक भवन, प्रयोगशाला तथा पुस्तकालय भवन निर्माण, पहुँचमार्ग स्तरोन्नतिलगायतका पूर्वाधार आवश्यक रहेको जनाइएको छ। आवश्यक भौतिक संरचना निर्माण सम्पन्न भएलगत्तै इन्जिनियरिङतर्फका स्नातक तहका कक्षा सञ्चालन गर्न सकिने र यसबाट सुदूरपश्चिम प्रदेशका विद्यार्थीलाई आफ्नै क्षेत्रमा प्राविधिक शिक्षा हासिल गर्न सहज हुने अपेक्षा गरिएको छ।