आर्थिक मामिला मन्त्री मल्ल मन्त्री बनेपछि पहिलो पटक भाद्र २१ मा गृह जिल्ला डोटी आउँदै

793

भाद्र १६, डोटी ।
सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला मन्त्री चक्रबहादुर मल्ल मन्त्री बनेपछि पहिलोपटक गृह जिल्ला डोटी आउने कार्यक्रम तय भएको छ।
नेकपा (एमाले) डोटी जिल्ला कमिटीको नवौँ पूर्ण बैठकमा सहभागी हुन मन्त्री मल्ल डोटी आउन लागेका हुन् ।
यही भदौ २१ गते मध्याह्न १२ बजे एमाले पार्टी कार्यालय, सिलगढीमा आयोजना हुने बैठकमा एमाले केन्द्रिय सदस्य तथा डोटी इन्चार्ज समेत रहेका मन्त्री मल्ल सहभागी हुने निश्चित भएको एमाले डोटी उपसचिव एवं मन्त्री मल्लका प्रमुख स्वकीय सचिव डम्बर सिंह डौडीले जानकारी दिए ।

नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबिच प्रदेश सरकारमा सत्ता साझेदारी गर्ने सहमति पश्चात् सुदूरपश्चिम प्रदेशमा नेकपाका नेता खगराज भट्ट मुख्यमन्त्री भएकै दिन गत साउन २९ गते एमाले नेता मल्लले आर्थिक मामिला मन्त्रीको जिम्मेवारी सम्हालेका थिए ।
सुदूरपश्चिम प्रदेश सरकारले बजेट ल्याउन लागेको पूर्वसन्ध्यामा आर्थिक मामिला मन्त्री मल्लको गृह जिल्ला आगमनलाई विकासका योजना र बजेटमा समेत विशेष आशाको रूपमा लिइएको छ ।
एमाले जिल्ला कमिटी बैठकमा प्रमुख अतिथिका रूपमा नेकपा (एमाले) केन्द्रिय सदस्य तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज एवं पूर्व मन्त्री दामोदर भण्डारी सङ्गै सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्ष कृष्ण प्रसाद जैसीलगायत नेताहरूको विशेष उपस्थिति रहने एमाले श्रोतले जनाएको छ।
बैठकमा जिल्ला कमिटीका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरू एवं जिल्ला कमिटीका पदेन सदस्यहरूलाई अनिवार्य उपस्थितिका लागि आग्रह गरिएको छ।

 

Leave A Reply

Your email address will not be published.