इम्प्याक्ट क्लब र बाल क्लबका सदस्यहरूको वार्षिक भेला सम्पन्न

301

राज पार्की/भाद्र १६, डोटी ।
डोटीमा इम्प्याक्ट क्लब र बाल क्लबका सदस्यहरूका लागि उत्प्रेरणा, सशक्तीकरण तथा नेतृत्व विकास सम्बन्धी वार्षिक भेला सम्पन्न भएको छ।
१२ देखि १८ वर्ष उमेर समूहका बालबालिका तथा किशोर-किशोरीहरूलाई लक्षित गरी बालबालिकाका समसामयिक समस्या, तिनको न्यूनीकरण र उनीहरूको उज्ज्वल भविष्य निर्माणका विषयमा छलफल गर्दै भेला सम्पन्न भएको हो ।
पछिल्लो समय विभिन्न सामाजिक तथा अन्य कारक तत्वहरूले बालबालिकामा नकारात्मक प्रभाव पारिरहेकोले यस्ता नकारात्मक प्रभावहरूलाई न्यूनीकरण गर्दै उनीहरूभित्र रहेको प्रतिभा र क्षमता प्रस्फुटन गर्ने कार्यक्रमको उद्देश्य रहेको वर्ल्ड भिजन इन्टरनेशनल नेपालका सुदुरपश्चिम प्रदेश बाल संरक्षण अधिकृत कृप जोशीले बताए ।
बाल्यावस्था र किशोरावस्थाको यो संवेदनशील समयमा आफ्नै भविष्यको स्पष्ट योजना बनाउने क्षमता र सञ्चार सीपको विकास गराउन सरोकारवाला र आम नागरिकको भूमिका महत्त्वपूर्ण हुनेमा उनले जोड दिए ।
कार्यक्रमा दिपायल सिलगढी नगरपालिकाका नगर प्रमुख बाजि सिं खड्का (विजय) ले बालबालिकालाई सही मार्गमा लैजान असल संगतको ठूलो भूमिका हुने बताए । आफ्नो भविष्य सुन्दर र सफल बनाउन किशोरावस्थामै सही र सकारात्मक मानिसहरूसँग संगत गर्नुपर्नेमा उनले जोड दिए ।
त्यस्तै, डोटीका प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालले बालबालिकाहरू भोलिका कर्णधार भएकाले उनीहरूले असल नागरिक बनेर राष्ट्रको हितमा काम गर्नुपर्ने बताइन् । समाजमा व्याप्त मदिरापान, लागूऔषध दुर्व्यसनी, बालविवाह, आत्महत्याका घटना, शिक्षाको पहुँचमा कमी र छोराछोरीबीच गरिने विभेद जस्ता गम्भीर सामाजिक समस्याहरू विरुद्ध सबै मिलेर लाग्नुपर्नेमा उनलेे जोड दिइन् ।
कार्यक्रममा डोटी प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) सागर बोहराले सुरक्षा र कानुनी सचेतनाका विषयमा आफ्ना धारणा राखेका थिए । उनले पछिल्लो समय बालबालिका र युवाहरू लागूऔषध, सामाजिक सञ्जालको दुरुपयोग र अनलाइन ठगीको जोखिममा परिरहेको प्रति सजग गराए । सामाजिक सञ्जालमा गैरकानुनी सामग्री पोस्ट गर्ने, अरूको चरित्र हत्या गर्ने जस्ता कार्य अपराध हुने र यसमा कडा जरिवाना तथा कैदको व्यवस्था रहेको जानकारी दिँदै उनले डिजिटल प्लेटफर्मको प्रयोग गर्दा विशेष सावधानी अपनाउन आग्रह गरे ।
सामुदायिक विकास केन्द्र (सिडिसी) डोटी र वर्ल्ड भिजन इन्टरनेशनलको साझेदारीमा आयोजित भेलामा प्रमुख प्रशिक्षक साहित्यकार, गीतकार एक सञ्चारकर्मी डा. नबराज लम्सालले आफ्नो जिल्लामा ५ कक्षासम्म मात्रै विद्यालय भएको हुँदा उपत्यका गएर पढ्ने बेलादेखि मदन पुरस्कर पाएको सफलतासम्मका अनुभव र संघर्ष सुनाएका थिए ।
त्यसैगरी प्रशिक्षकमा लेखक तथा पत्रकार रोहित भण्डारी, उमेश सिवाकोटी, मेनुका ढुंगाना रहेका थिए ।
कार्यक्रममा सिडिसिका कार्यकारी निर्देशक हेमराज जोशिले समय पुस्तान्तरण हुदै गैरहेको समयमा किशोरकिशोरीले लगनशील भएर क्षमतावान बन्नुपर्ने बताए । साथै बालबालिका र शिक्षाको क्षेत्रमा सिडिसिले जहिले पनि काम गर्न तयार रहेको बताए ।
भेलामा सहभागी इम्प्याक्ट क्लब र बाल क्लबका सदस्यहरूले यस प्रकारको वार्षिक भेलाबाट आफूहरूमा नेतृत्व क्षमता, सञ्चार सीप र सामाजिक उत्तरदायित्वको भावना अभिवृद्धि गर्न ठूलो सहयोग पुगेको बताएका थिए ।

Leave A Reply

Your email address will not be published.