यस वर्ष `श्रीकृष्ण जन्माष्टमी´ र सुदूरपश्चिमको `गौरा पर्व´ एकै दिन मनाइँदै
भाद्र १९, डोटी ।
यस वर्ष भगवान् श्रीकृष्णको जन्मोत्सवका रूपमा मनाइने श्रीकृष्ण जन्माष्टमी र सुदूरपश्चिमको मौलिक सांस्कृतिक पर्व गौरा एकै दिन परेको छ। दुवै पर्व आज शुक्रबार देशका विभिन्न भागमा धार्मिक तथा सांस्कृतिक विधि अनुसार मनाइँदैछ।
पात्रोअनुसार भदौ १९ गते श्रीकृष्ण जन्माष्टमी, गौरा पर्व तथा दुर्वाष्टमी परेको छ। सुदूरपश्चिममा भने आज गौराको मुख्य दिन अठवाली मनाइँदैछ।
श्रीकृष्ण जन्माष्टमीमा भगवान् श्रीकृष्णको पूजा–आराधना गरी व्रत बस्ने, भजन–कीर्तन गर्ने तथा मध्यरातमा कृष्ण जन्मको उत्सव मनाउने गरिन्छ। देशभरका कृष्ण मन्दिरमा आज विशेष पूजा तथा धार्मिक कार्यक्रम हुँदैछन्।
यता सुदूरपश्चिमेलीको प्रमुख मौलिक पर्व गौरा भने शिव–पार्वतीको पूजाआजा र पारिवारिक सुख, समृद्धिको कामनासहित मनाइँदैछ। गौरा पर्वको मुख्य दिन अष्टमीलाई अठवाली भनिन्छ। यस दिन गौरा खलामा गौरा देवीको पूजा गर्ने, व्रत बस्ने तथा देउडा खेल्ने परम्परा रहेको छ।
गौरा पर्वको सुरुआत भाद्र शुक्ल पञ्चमीका दिन बिरुडा भिजाउने परम्पराबाट हुन्छ। षष्ठीका दिन बिरुडा धुने र सप्तमीका दिन गौरा भित्र्याएर पूजा गर्ने चलन छ। त्यसपछि अष्टमी अर्थात् अठवालीका दिन गौरा खलामा विशेष पूजाआजा तथा सांस्कृतिक गतिविधि गरिन्छ।
गौरा सुदूरपश्चिमको धार्मिक आस्थासँगै मौलिक संस्कृति र सामाजिक एकताको पर्वका रूपमा समेत स्थापित छ। गौरा खलामा हुने देउडा यस पर्वको प्रमुख आकर्षण हो। देउडामा धार्मिक तथा पौराणिक गाथासँगै समसामयिक सामाजिक विषयसमेत प्रस्तुत गर्ने गरिन्छ।
यस वर्ष श्रीकृष्ण जन्माष्टमी र गौरा पर्वको मुख्य दिन आज एकैदिन परेकाले धार्मिक आस्था र सुदूरपश्चिमको मौलिक संस्कृतिको संगमका रूपमा आजको दिन विशेष बनेको छ। सुदूरपश्चिमका पहाडी जिल्लादेखि तराई तथा काठमाडौं लगायत विभिन्न स्थानमा रहेका सुदूरपश्चिमेली समुदायले समेत विविध कार्यक्रम गरी गौरा पर्व मनाइरहेका छन्।