उद्योग वाणिज्य संघ कोषाध्यक्ष कुँवरको भावुक स्टाटस : ‘डोटी तिमीले मानिसलाई नचिन्दो रहेछौ !’

1,119

भाद्र १९, डोटी ।
डोटी उद्योग वाणिज्य संघको अधिवेशनको पूर्वसन्ध्यामा संघका वर्तमान कोषाध्यक्ष आईजङ्ग कुँवरले सामाजिक सञ्जालमा एक भावुक स्टाटस लेखेका छन् ।
यही भदौ २५ गते डोटी उद्योग वाणिज्य संघको अधिवेशन हुँदैछ। अधिवेशन नजिकिँदै गर्दा कुँवरले फेसबुकमा लामो स्टाटस लेख्दै डोटीमा आफूले गरेको योगदान, राजनीतिक तथा सामाजिक मूल्यांकनप्रति असन्तुष्टि र जिल्लासँगको आफ्नो भावनात्मक सम्बन्ध व्यक्त गरेका छन्।
स्टाटसमा उनले ‘डोटी तिमीले मानिसलाई नचिन्दो रहेछौ’ भन्दै आफूले लामो समयदेखि डोटीलाई कर्मभूमि बनाएर गरेको योगदानको स्मरण गरेका छन्।
२०६७ सालमा डोटी जिल्ला अस्पतालको फार्मेसी हेर्न आएको प्रसंग उल्लेख गर्दै जिल्लामा १६ वर्ष बिताएको र अहिले डोटीले आफूलाई परायाजस्तो बनाएको भाव व्यक्त गरेका छन्। कुँवरले आफू २०७० सालमा बसाइँसराइ गरी डोटीको माटोलाई आफ्नो मुटुसँग गाँसेको, यही माटोमा आफुले छोरा गुमाउनुपरेको सम्मका दु:खद प्रसङ्ग पनि उल्लेख गरेका छन्।
उनले डोटी उद्योग वाणिज्य संघमा आफूले गरेको योगदानको प्रसंगसमेत उठाएका छन्। डोटी उद्योग वाणिज्य संघको साधारण पदमा समेत समेटिन नसकेको उल्लेख गर्दै आफूले गरेको योगदानको उचित मूल्यांकन नभएको गुनासो गरेका छन्।
यस्तै, विपद्का बेला व्यवसायीहरुलाई सहयोग गर्न आफू अग्रसर हुँदै आएको उल्लेख गर्दै ‘कुनै व्यवसायी विपत्तिमा परे १२ घण्टाभित्र सहयोग गर्न अग्रसर भएको इतिहास छ’ उनलेे भनेका छन्।
स्टाटसमा उनले पिपल्लामा सडक तथा निकास निर्माणका लागि आफूले गरेको पहलको प्रसंग पनि उल्लेख गरेका छन्। अञ्चलाधीशले पिपल्लालाई सहरीकरण गरी बाटो खोल्न नसकेको अवस्थामा आफूले २० फिटको बाटो खोली निकास निकालिदिएको दाबी गरेका छन्। त्यससँगै पिपल्लालाई टाउन प्लानिङ गर्ने योजना र सामर्थ्यसमेत आफूमा रहेको उनले बताएका छन्।
अधिवेशनको पूर्वसन्ध्यामा वर्तमान कोषाध्यक्ष कुँवरको यस्तो भावुक अभिव्यक्ति सार्वजनिक हुनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ। संघको नयाँ नेतृत्व चयनका लागि भदौ २५ गते अधिवेशन हुँदै गर्दा उनको स्टाटसले डोटी उद्योग वाणिज्य संघको आगामी नेतृत्व चयनको माहोलमा थप चर्चा चुलिएको छ।
यद्यपि, कुँवरले आफ्नो स्टाटसमा आगामी अधिवेशनमा आफू कुन पदमा उम्मेदवारी दिने वा नेतृत्वका लागि दाबी गर्ने भन्ने विषय भने स्पष्ट रूपमा नखुलाए पनि उनी अध्यक्ष पदका आकाङ्क्षी रहेको बताउएको छ ।
स्टाटसको अन्त्यमा उनले ‘जय होस् डोटी’ भन्दै जिल्लाप्रतिको आफ्नो भावनात्मक सम्बन्ध व्यक्त गरेका छन्।
कुनै पनि अधिवेशनमा राजनीतिक आस्थाका आधारमा र गुटबन्दी सहित उम्मेदवारी रहने परम्परा नै बनेको छ ।

Leave A Reply

Your email address will not be published.