भ्रष्टाचार विरुद्ध नेकपाको भण्डाफोर अभियान : प्रतिकात्मक रुपमा भ्रष्ट ब्वाँसोलाई गोबर मिसाईएको अन्न र कालो मास्क दहन

572

असोज १०, डोटी ।

डोटीको शिखर नगरपालिकामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले असोज २ गतेबाट सञ्चालन गरेको भ्रष्टाचार विरुद्ध एक महिने अभियानमा विरोधको नयाँ शैली अपनाएको छ ।
शनिबार शिखर नगरपालिकाको वडा नं. ४ मुडभरामा आयोजित कार्यक्रममा भ्रष्टाचारीलाई ब्वाँसाको संज्ञा दिंदै प्रतिकात्मक रुपमा ‘भ्रष्ट ब्वाँसोको खानेकुरा’ लेखेर गोबरमा चामल मिसाएर वडा कार्यालयको प्राङ्गणमा राखिएको छ भने सोहि ठाउँमा कालो मास्क दहन गरिएको छ ।
खास गरी वडा नं. ४ मा कोरोना महामारीको अवधीमा क्वारेन्टिनमा राखिएका मानिसहरुलाई खुवाईएको खाना सरकारले तोकेको दर रु. १७५ भन्दा बढी बिल बनाई रु. २३१ लिएको हुँदा उक्त प्रतिकात्मक विरोध गरिएको नेकपा शिखर नगर संगठन कमिटि अध्यक्ष एवं भण्डाफोर अभियानका संयोजक सागर भट्टले जानकारी दिए ।
जिल्ला समन्वय समिति डोटीका प्रमूख एवं नेकपा डोटीका जिल्ला नेता राम ऐरको प्रमूख आतिथ्यतामा सम्पन्न कार्यक्रमलाई संवोधन गर्दै नेता ऐरले शिखर नगरपालिकाका जनप्रतिनिधीहरुलाई पटक–पटक सुझाव सल्लाह दिंदा पनि कुनै सुनवाई नभएकाले भण्डाफोर अभियानमा उत्रिनु परेको बताए । साथै नगरभित्र योजना बाँडफाँडमा जनप्रतिनिधीहरुका निहीत स्वार्थका कारण जनमैत्री काम हुन नसकेको उनले बताए ।
कार्यक्रममा नेकपा शिखर नगर कमिटि इञ्चार्ज रमेश जोशी ‘सैपाल’, युवा नेता शेर बहादुर मल्ल, भीम बलायर, करन नेपाली लगाएतका थुप्रै स्थानीय नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको नेकपाले जनाएको छ ।


देशभर संघ, प्रदेश र स्थानीय तहका सरकारको बहुमत भएता पनि जम्मा ११ वटा वडा रहेको शिखर नगरपालिकामा नगर प्रमूख, उप–प्रमूख र ७ वटा वडाका अध्यक्ष सहित जितेर नेपाली काँग्रेसको बहुमत छ ।
उक्त नगरपालिकामा विभिन्न योजनाहरुमा र कोरोना महामारी नियन्त्रणका नाममा भ्रष्टाचार भएको भन्दै आम जनतामाझ गलत कार्यको पर्दाफास गर्दै अभियान चलाईएको नेकपाले जनाएको छ ।
नेकपाको अभियानको प्रतिकारमा नेपाली काँग्रेसले पनि कार्यक्रम आयोजना गरिरहेको श्रोतले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.