जोरायलका ६९ बाल विकास केन्द्रलाई ३ लाख बराबरका सिकाई सामाग्री हस्तान्तरण
असोज १९, डोटी ।
डोटीको जोरायल गाउँपालिकाभित्रका विभिन्न ६९ वटा बाल विकास केन्द्रका ८ सय विद्यार्थीका लागि सोमबार ३ लाख बराबरका सिकाई सामाग्री हस्तान्तरण गरिएको छ ।
जोरायल गाउँपालिका र युनिसेफ नेपालको साझेदारीमा सो गाउँपालिकामा सञ्चालित बाल केन्द्रित विपद जोखिम न्यूनिकरण कार्यक्रम अन्तरगत सामाग्री हस्तान्तरण गरिएको कार्यक्रम अधिकृत डम्बर बोहराले जानकारी दिए ।
घरमै बसेर पनि अध्ययन गर्न सकिने गरी शिक्षा तथा विज्ञान मानव श्रोत विकास केन्द्रले तयार पारेका सिकाई सामाग्रीहरु सम्बन्धीत बाल विकास केन्द्रका प्रतिनिधीलाई जोरायल गाउँपालिका अध्यक्ष दुर्गादत्त ओझा र उपाध्यक्ष जमुना बोहराबाट हस्तान्तरण गरिएको बोहराले बताए ।

कोभिड–१९ का कारण नियमित कक्षा सञ्चालन हुन नसकेको बेलामा अभिभावकको सहयोगमा बालबालिकाहरुलाई घरमै पनि सिकाई क्रियाकलाप गराउन सकिने हुँदा सोका लागि आवश्यक पाठ्य सामाग्री, कलर, पेन्सिल, कटर लगाएतका सामाग्रीहरु प्रदान गरिएको जनाइएको छ ।
कोरोना महामारीको सन्त्रासकै बिच जोरायल गाउँपालिकाका अधिकांश विद्यालयहरुमा औपचारिक पठनपाठन पनि शुरु भैसकेको छ ।