नेकपा डोटीले आदर्श र सायलमा कार्यक्रम गर्दै
प्रेम नेपाली
असोज २४, डोटी ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) डोटीले जिल्लाका ९ वटै स्थानीय तहमा कार्यक्रम गर्ने योजना अनुसार शनिबार आदर्श र आइतबार सायल गाउँपालिकामा कार्यक्रम आयोजना गर्ने भएको छ ।
विशेषतः सम्बन्धीत स्थानीय तहमा रहेको नेकपा गाउँ संगठन कमिटि बैठक र अन्तरक्रियामा केन्द्रित कार्यक्रम अन्तरगत शनिबार आदर्श गाउँपालिकाको कानेगडामा बिहान ११ बजेदेखि कार्यक्रम आयोजना गरिएको नेकपा डोटीका अध्यक्ष चक्र मल्लले जानकारी दिए ।
कार्यक्रममा नेकपाका सुदूरपश्चिम प्रदेश स्तरका नेता, डोटीका जिल्ला नेता तथा विभिन्न जनवर्गीय संगठनका नेता कार्यकर्ता र स्थानीय तहमा रहेका नेता कार्यकर्ताहरुको सहभागिता रहने जनाईएको छ ।
पछिल्लो समयमा नेकपाको एकिकरण प्रक्रियाका कारण र कोरोना महामारीका कारण पार्टी चलायमान बनाउन नसकेको भए पनि अहिले कोरोना जोखिमबारे सतर्कता अपनाउँदै कार्यक्रम आयोजना भईरहेको नेकपाले जनाएको छ । अन्य ७ वटा स्थानीय तह शिखर नगरपालिका, पूर्वीचौकी गाउँपालिका, बोगटान फुड्सिल गाउँपालिका, केआईसिंह गाउँपालिका, दिपायल सिलगढी नगरपालिका, जोरायल गाउँपालिका र बडिकेदार गाउँपालिकामा यसपूर्व कार्यक्रम सम्पन्न गरिसकेको छ । कार्यक्रमका क्रममा विभिन्न स्थानीय तहमा गरेर सैयौं नेता तथा कार्यकर्ता अन्य पार्टी परित्याग गरी नेकपामा प्रवेश गरेको नेकपा डोटीले जनाएको छ ।