डोटीमा छाउपडी प्रथा विरुद्ध सचेतनामूलक सडक नाटक प्रदर्शन
भागरथी मडै
असोज २६, डोटी ।
डोटीमा छाउपडी प्रथाजन्य हानिकारक अभ्यासहरु तोड्नका लागि सोमबार जनचेतनामूलक सडक नाटक प्रर्दशन गरिएको छ ।
जिल्लाको शिखर नगरपालिका वडा नं. १ कफल्लेकी र वडा नं. ३ मुड्भरामा सडक नाटक प्रदर्शन गरिएको सम विकास केन्द्र (इडिसी) नेपाल डोटीका स्थानीय अधिकार कार्यक्रमका कार्यक्रम संयोजक केशव परियारले जानकारी दिए ।
परम्परागत रुपमा जरो गाडेर रहेको छाउपडी प्रथा धार्मिक तथा साँस्कृतिक एवं पितृसत्तात्मक मान्यतामा आधारित कुप्रथाको विरुद्ध आम रुपमा जागरण ल्याउन महिला तथा किशोरीहरुले नाटक प्रर्दशन गरेका हुन् ।
छाउपडी प्रथाजन्य हानिकारक अभ्यासहरु तोड्नका लागि किशोरी, महिला तथा युवाहरुको साझा अभियान परियोजना अन्तरगत सडक नाटक प्रदर्शन गरिएको परियोजनाका फिल्ड अधिकृत मिना आउजीले जानकारी दिइन् ।
कफल्लेकीमा लाली गुराँस रिफ्लेक्ट सर्कल र मुड्भरामा उज्यालो रिफ्लेक्ट सर्कलको संयोजनमा सडक नाटक प्रदर्शन गरिएको उनले बताईन् ।
सामाजिक अन्धविश्वास, गलत धार्मिक मूल्यमान्यता र सामाजिक चेतनाको अभावले अझै पनि महिलाहरु छाउपडी प्रथाको सामना गर्न बाध्य भएको अवस्थामा नाटकमार्फत महिनावारी अवस्थामा महिलाहरुलाई सुरक्षित रुपमा घर भित्र बस्ने, पोषिलो खानेकुरा खाने र मानवीय सम्मान सहित बाँच्न पाउने अधिकारको सुनिश्चितताका सवालमा सडक नाटकमा सन्देश दिइएको थियो ।

सम विकास केन्द्र नेपालले एक्शनएड नेपालसँगको सहकार्यमा छाउपडी प्रथाजन्य हानिकारक अभ्यासहरु तोड्नका लागि किशोरी तथा युवाहरुको साझा अभियान अन्र्तगत डोटीको दिपायल सिलगढी नगरपालिका, शिखर नगरपालिका र के.आई.सिंह गाउपालिकामा किशोरी समूह, महिला अधिकार मञ्च र रिफ्लेक्ट सर्कलमार्फत सचेतना अभियानमा सक्रियता देखाएका छन् ।