दिपायल सिलगढी नगरपालिकाद्वारा बजार अनुगमन, हजारौं मूल्यका म्याद नाघेका अखाद्य सामान बरामत
असोज २७, डोटी ।
डोटीको दिपायल सिलगढी नगरपालिकाको संयोजनमा मंगलबार बजार क्षेत्रमा सर्वपक्षीय अनुगमन गरिएको छ ।
नगरपालिकाको वडा नं. २ र ३ मा पर्ने एअरपोर्ट बजार क्षेत्रका पसलहरुमा गरिएको अनुगमनमा हजारौं मूल्य बराबरका म्याद नाघेका अखाद्य सामानहरु बरामत गरिएको दिपायल सिलगढी नगरपालिकाका उप–प्रमूख तथा अनुगमन समिति संयोजक शिवराज खड्काले बताए ।
अनुगमन टोलीले दिपायल सिलगढी नगरपालिका वडा नं. ३ मा रहेको गोलेदेउला किराना स्टोर तथा बबिता मदिरा पसलबाट ड्राइगन बियर २० बोत्तल, टुबोर्ग प्रिमियम १७ बोत्तल, स्ट्रोङ्ग बियर ९ बोत्तल र चकलेट ४ डिब्बा म्याद नाघेको तर बेच्नलाई राखेको अवस्थामा बरामद गरेको छ ।

गोलेदेउला किराना स्टोर तथा बबिता मदिरा पसल व्यापारीहरुको सँस्था डोटी चेम्बर अफ कमर्सका सह–कोषाध्यक्ष समेत रहेका तेज बहादुर खड्को पसल भएको अनुगमन टोलीले जनाएको छ ।
त्यस्तै दिपायल सिलगढी नगरपालिका वडा नं. २ मा रहेको दिपा खुद्रा तथा स्टेशनरी स्टोरबाट म्याद नाघेका चिसो पेय पदार्थका २६ बोत्तल सोहि ठाउँमा नष्ट गरिएको छ भने कम्बोस्टिक १२ पकेट बरामद गरिएको दिपायल सिलगढी नगरपालिकाका प्रतिनिधी हरिशुन्दर श्रेष्ठले बताए ।
त्यस्तै सोही वडाको कुलदेउता तेडी जनरल स्टोरबाट २ सय ग्रामका स्वायविन २ प्याकेट, छोहरा १ प्याकेट, मुस्कान नामक टफि (चकलेट) एक प्याकेट बरामद भएको छ ।
यसैगरी नगरपालिकाको वडा नंं ३ मा पर्ने नेहा जनरल स्टोरबाट जेली ४६ पिस, चोखोपन १० डिब्बा, जाम ५ पिस, हर्लिक्स ७ बट्टा, अचार १ बट्टा, क्यान बियर ४ पिस, मेथी ६ प्याकेट माद नाघेको अवस्थामा बरामद गरिएको हो ।
गएको भाद्र महिना दोश्रो सातातिर बजार अनुगमन हुँदा पनि केहि अखाद्य सामानहरु बरामद गरिएको थियो भने व्यापारीहरुलाई सुझाव दिईएको थियो । तर ति सुझावहरुको व्यापारीले कुनै वास्ता नगरेको दिपायल सिलगढी नगरपालिकाका सामाजिक विकास अधिकृत रमेश जोशीले बताए । अब जरिवाना सहितको कारवाही अन्तिम विकल्प भएको उनको भनाई थियो ।
अनुगमन टोलीमा दिपायल सिलगढी नगरपालिकाका कर्मचारीसँगै, खाद्य प्रविधी तथा गुण नियन्त्रण डिभिजन कार्यालय, डोटी उद्योग वाणिज्य संघका प्रतिनिधी, इलाका प्रहरी कार्यालय दिपायलका प्रतिधिी र पत्रकारहरुको सहभागिता रहेको थियो ।