डोटीको पुर्वीचौकीमा स्वास्थ्यचौकीमै एमबिबिएस डाक्टर राखेर स्वास्थ्य सेवा दिन शुरु

529

असोज ३०, डोटी ।

डोटीको पूर्वीचौकी गाउँपालिकाले स्वास्थ्यचौकीमै एमबिबिएस डाक्टरको व्यवस्था गरी जनतालाई स्वास्थ्य सेवा दिन शुरु गरेको छ ।
गाउँपालिकाको केन्द्र समेत रहेको वडा नं. ४ स्थित सानागाउँ स्वास्थ्यचौकीमा रहने गरी डाक्टरको व्यवस्था गरी सेवा दिन थालेको हो ।
यहि असोज ११ गते नियुक्त भई असोज २१ बाट सेवा दिन शुरु गरेको एमबिबिएस डाक्टर अंकित रेग्मीले बताए ।
उनका अनुसार दिनमा सरदर १५ देखि २० जनासम्म मानिसहरु उपचार सेवाका लागि आउने गरेको र तिमध्ये १२ जना जति प्राय रुघाखोकीका बिरामी देखापर्ने गरेको डाक्टर रेग्मीले जानकारी दिए । जसमध्ये अधिकांश बृद्धबृद्धाहरु र बच्चाहरु रहेको एवं यतिबेला कोरोनाको उच्च जोखिम भएकाले उनिहरुलाई जिल्ला अस्पतालमा गई पिसिआर जाँच गराउन सुझाव समेत दिने गरेको उनले सुनाए ।
गाउँका कतिपय मानिसहरु बिरामी चेकजाँच बिना औषधी माग्ने गरेको पनि उनले सुनाए ।

बाराको कलैया घर भई करिब अढाई वर्ष पहिले बङ्गलादेशबाट एमबिबिएस गरेका डाक्टर रेग्मीले पूर्वीचौकीमा आउनुपूर्व सोचेजस्तो अफ्ठ्यारो वातावरण नभएकाले सेवा दिन खासै कठिन नभएको बताए ।
यद्यपी स्वास्थ्यचौकीमा ल्याब सेवा, गर्भवतीको लागि भिडियो एक्सरे सेवा भएता पनि सबै बिरामीको जाँच गर्न भिडियो एक्सरे आवश्यक रहेको र सोको व्यवस्थाका लागि गाउँपालिकालाई सुझाव दिईसकेको उनले बताए ।
जनशक्तिका हिसाबले उक्त स्वास्थ्यचौकीमा विभिन्न पदमा कार्यरत ८ जना कर्मचारी भएकाले खासै कठिन नभए पनि आँखाका बिरामी जाँच गर्न ओप्थ्याल्मस्कोप, रगतको मात्रा जाँच गर्ने अक्सिमिटरको थप व्यवस्था भएमा र हालको ल्याबमा रहेका एनालाईजर र कोलोरिमिटर बिग्रीएको अवस्थामा रहेकोले तिनको मर्मत गरेमा थप सेवा दिन सकिने डाक्टर रेग्मीले बताए ।
गाउँपालिकाभित्रका जनताले नजिकै स्वास्थ्य उपचार सेवा पाउन भन्ने उद्धेश्यले मासिक १ लाख २० हजार तलब दिएर डाक्टरको प्रबन्ध गरी उपचार सेवा शुरु गरिएको पूर्वीचौकी गाउँपालिकाका अध्यक्ष दीर्घराज बोगटीले बताए ।
जनताको स्वास्थ्य उपचार सेवालाई मध्येनजर गरी डाक्टरको व्यवस्था सहित उपचार सेवा शुरु गरेपछि स्थानीय बासिन्दा निकै लाभान्वित भएको पूर्वीचौकी गाउँपालिका स्वास्थ्य शाखा प्रमूख राजु खड्काले बताईन् ।
बिरामीको उपचारका लागि हाल हस्पिटल बेड (शैया) को व्यवस्था नभएकाले भर्ना गरी उपचार गर्न कठिनाई रहेकोमा आगामी कार्तिक मसान्तभित्र १० शैय्याको भवन निर्माण कार्य शुरु गर्ने गरी संघबाट ८५ लाख रकम बिनियोजन भएर आएको शाखा प्रमूख खड्काले जानकारी दिइन् ।

 

Leave A Reply

Your email address will not be published.