‘फुड ह्याबिट’मा सुधार गर्नु जरुरी छ–प्रजिअ भट्टराई
असोज ३०, डोटी ।
डोटीका प्रमूख जिल्ला अधिकारी भीम प्रसाद भट्टराईले मानिसले ‘फुड ह्याबिट’ (खाना खाने बानी) मा सुधार गर्नु जरुरी भएको बताएका छन् ।
‘हाम्रो पहलः दिगो कृषि, पोषिलो आहार’ भन्ने मूल नाराकासाथ कृषि ज्ञान केन्द्र डोटीद्वारा आयोजित ४० औं विश्व खाद्य दिवसको अवसरमा प्रमूख अतिथिको रुपमा बोल्दै प्रजिअ भट्टराईले यस्तो बताएका हुन् ।
मानिसहरुले खाना खाने समयान्तर, खानेकुराहरु र खानेकुराको मात्रा लगाएत विषयमा बानी सुधार गर्नु जरुरी रहेको उनले बताए ।

आवश्यक मात्राभन्दा कम वा बढी खाँदा कुपोषणको समस्या झेल्नुपर्ने भएकाले यसमा सचेत हुनुपर्नेमा उनको जोड थियो ।
यसै आर्थिक वर्षको साउन १ गतेबाट कृषि ज्ञान केन्द्र स्थापना भई सञ्चालनमा आईसकेकाले डोटी जिल्लाका कुन स्थानीय तहमा कस्तो खालका खाद्यान्न उत्पादन सम्भव छ, खाद्यान्नको अवस्था के छ सोबारेमा कृषि ज्ञान केन्द्रले अध्ययन गरी सम्बन्धीत स्थानीय तहसँग र सरोकारवालासँग समन्वय गरी अगाडी बढ्न जरुरी रहेको पनि उनले बताए ।
कार्यक्रममा बोल्दै कृषि ज्ञान केन्द्र डोटीका निमित्त प्रमूख नरेन्द्र पनेरुले विशेष गरी खाद्य सुरक्षाका चार वटा आयामहरु खाद्य वस्तुको उपलब्धता, पहुँच, उपयोग र स्थिरता भए मात्रै खाद्य सुरक्षा भएको मानिने बताए ।

कृषि ज्ञान केन्द्र अन्तरगत मुख्यमन्त्री एकिकृत कृषि तथा पशुपंक्षी विकास कार्यक्रम, साना व्यवसायीक उत्पादन केन्द्र, साना सिंचाई तथा पूर्वाधार विकास कार्यक्रम, बिज वृद्धि कार्यक्रम, तरकारी लगाएतका क्षेत्रमा कृषि ज्ञान केन्द्रका कार्यक्रम रहेको उनले जानकारी दिए ।
सरकारी तथ्याङ्क अनुसार डोटी जिल्लामा ३ हजार ४ सय २० टन कृषि उत्पादन आवश्यकताभन्दा बढि रहेको छ । तर जिल्लामा दिनहुँ बाहिरबाट आयात हुने खाद्यान्नको भने कुनै लेखाजोखा गर्ने गरिएको छैन ।
नेपालको संविधान २०७२ को भाग ३ मौलिक हक अन्तरगत धारा ३६ मा खाद्य सम्बन्धी हकको व्यवस्था गरी प्रत्येक नागरिकलाई खाद्य सम्बन्धी हकको ग्यारेन्टी गरिएको छ । खाद्यवस्तु अभावमा जीवन जोखिममा पर्ने अवस्थाबाट सुरक्षित हुन पाउने र कानुन बमोजिम खाद्य सम्प्रभुताको हक हुने कुरा संविधानमा उल्लेख छ ।
कोरोना महामारीका कारण सिमित सरोकारवालाहरुको सहभागिता गराईएको कार्यक्रममा खाद्य दिवसका बारे जानकारी राखिएका प्रदर्शन सामाग्रीका रुपमा टिसर्टहरु समेत वितरण गरिएको थियो ।
