डडेल्धुराको आलितालमा काठ तस्करीकै लागि सडक निर्माण गरिएको संसदिय समितिको निष्कर्ष
राजेन्द्र ठगुन्ना
डडेल्धुरा ।
डडेल्धुराको आलिताल गाँउपालिका वडा नं. ८ डोलामा सालका रुखहरु काट्न कै लागि रिङरोड बनाईएको संसदीय समितिले बताएको छ । सुदुरपश्चिम प्रदेश सभाको अर्थ, विकास तथा प्राकृतिक श्रोत समितिले आलिताल गाउपालिकाको गोदाम बजारदेखी डोला जोड्ने सडकको आईतबार स्थलगत अनुगमन गरेको थियो ।
सुदुरपश्चिम प्रदेश सभाको अर्थ, विकास तथा प्राकृतिक श्रोत समितिका संयोजक दिर्घराज सोडारीको नेतृत्वमा रहेको टोलिले अनुगमनपश्चात सोमबार डडेल्धुरामा पत्रकार सम्मेलन गरि सडक आवश्यकताभन्दा पनि रुख काट्नकै लागि योजनाबद्ध रुपमा सडक बनाईएको पत्रकार सम्मेलनमार्फत जानकारी गराएको छ ।
सडक निर्माणका नाममा व्यापक रुपमा सालका रुखहरु काटीएको र केही काठ कैलालीसम्म ढुवानी गरिएको देखिएको र रुख कटानीमा संलग्न सबैलाई कानुनी दायरामा ल्याईने सुदुरपश्चिम प्रदेश सभाको अर्थ,विकास तथा प्राकृतिक श्रोत समिति संयोजक दिर्घराज सोडारीले बताए । उनले भने- “सडक निर्माण गर्ने निर्माण कम्पनी, वन उपभोक्ता समिति अध्यक्ष, वन डिभिजन कार्यालयको सो क्षेत्र हेर्ने कर्मचारी र गाउपालिकासम्म सुक्ष्म रुपमा अनुसन्धान गरि दोषिलाई कानुनी दायरामा ल्याईने छ ।”
गाउपालिकाले गाउ सभाबाट पारित नै नभएको सडकमा पैसा हालेको पत्रकार सम्मेलनमा संसदीय समितिले बताएको छ ।वातावरणीय प्रभाव मुल्याकन नै नगरेको ठाउमा गाउ पालिकाले सडक निर्माण कसरी गर्यो गाउपालिकालाई पनि जवाफ मागिएको समितिका सदस्य माननीय अक्कल रावलले बताएका छन् ।
रिङरोड आवश्यक नभएको ठाउमा सडक बनाएर काठ तस्करी गर्न खोजिएको प्रष्ट रुपमा देखिएको समितिकी सदस्य पुर्णा जोशीले बताईन । जंगलभित्र रिङरोड बनाउनुको अर्थ के ? स्काभेटर प्रयोग गरेर रुखहरु ढालि गोलिया बनाउनु पर्ने कारण के ? रिङरोड भन्दा सालका रुखहरु विनाश गरि काठ तस्करी गर्नु नै सडक बनाउने उद्धेश्य दखिएको जोशिको भनाई छ ।
डिभिजन वन कार्यालयले कानुनी कारवाही प्रक्रियामा अगाढी बढीसकेको हुँदा राम्रोसंग अनुसन्धान गरी कारवाही प्रक्रिया अगाढी बढाउन संसदीय समितिले निर्देशन दिएको वन डिभिजन प्रमुख विष्णुप्रसाद आचार्यले बताए । उनले भने-“डिभिजन वन कार्यालयले २ जनालाई पक्राउ गरि हिरासतमा राखेर आवश्यक अनुसन्धान प्रक्रिया अगाडी बढाएको र यस विषयमा वन मन्त्री लगायत मन्त्रालयका सचिवसम्म छलफल भैसकेको छ ।

वन डिभिजन कार्यालयले आलिताल गाउपालिकालाई शुक्रबार पत्राचार गरि सडक निर्माणका लागि वातावरणीय प्रभाव मुल्याकन अध्ययन भए नभएको, ठेक्का प्रक्रिया लगायतका विषयमा लिखित जवाफ माग गरेको छ । वन कार्यालयको अनुमति बेगर सालका रुखहरु काटी गोलिया बनाएर लुकाई राखेको अवस्थामा करिब ११० थान गोलिया शुक्रबार फेला पारेको डिभिजन वन कार्यालय डडेल्धुराका निमित्त प्रमुख डबल बहादुर बोहराले जानकारी दिएका छन् ।
शुक्रबार वन कार्यालयको टोलिले उक्त सडक क्षेत्रमा काठका गोलिया बनाईरहेको अवस्थामा एक जना व्यक्ति र सोही सामुदायिक वनका अध्यक्षलाई नियन्त्रणमा लिई हिरासतमा राखेर थप अनुसन्धान प्रक्रिया अगाडी बढाएको वन डिजिभन कार्यालय डडेल्धुराले जनाएको छ । सयौको संख्यामा रुख काटीदासम्म वन डिभिजन कार्यालय डडेल्धुराको जानकारीमा नआउनु डिभिजन वन कार्यालयको कम्जोरी रहेको डिभिजन प्रमुख आचार्यले स्विकार गरेका छन् ।
जंगलभित्र रिङरोड निर्माणका लागि रकम विनियोजित गर्नुले आलिताल गाउपालिका प्रति पनि शंका उत्पन्न भएको छ । गाउपालिकाले निर्माण गर्न लागेको सडक अनुगमनका लागि अनुगमन समितिको काम कर्तव्य के रहेछ भन्ने प्रश्न उठेको छ किन समयमै अनुगमन गर्न सकेन पालिकाले ? सडकक्षेत्रभित्र पर्ने रुखहरु हटाउनका लागि किन डिभिजन वन कार्यालयलाई खबर गरिएन ?
गोदाम बजारदेखी डोला गाउ जोड्ने सडक करिब १ करोड ४५ लाखको बजेट मध्ये ७७ लाखमा उग्रतारा कन्सट्रक्सनको ठेक्का सदर भई २०७७ पुससम्म निर्माण सम्पन्न गरि सम्झौता भएको आलिताल गाउपालिकाले जनाएको छ । एक करोडभन्दा माथिको ठेक्कामा प्रमुख प्रशाकीय अधिकृतले सम्झौतामा हस्ताक्षर गर्न नपाउने भएकोले गाउपालिका अध्यक्ष बल बहादुर गुरुङ र निर्माण कम्पनीका प्रतिनिधीबिच हस्ताक्षर भएको तत्कालिन आलिताल गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत नरेन्द्र सिह ठगुन्नाले बताए ।
संघिय सरकार र आलिताल गाउपालिको समपुरक बजेटबाट पुरानै सडकको सुधार विस्तार कार्य रहेकोले त्यसै कार्य अन्र्तगत रुखहरु काटिएको भन्ने जानकारी प्राप्त भएको गाउपालिका अध्यक्ष बलबहादुर गुरुङले बताए । उनले भने-“नयाँ सडक भएको भए वातावरणिय प्रभाव मुल्याँकन गरिन्थ्यो, तर पुरानै सडक भएकोले नगरिएको हो ।”
डडेल्धुरा सहित बझाङ, बैतडी र दार्चुला जिल्लामा प्राकृतिक प्रकोपको अनुगमन गर्नका लागि सुदुरपश्चिम प्रदेश अर्थ, विकास तथा प्राकृतिक स्रोत समिति संयोजक माननीय दिर्घ सोडारीको संयोजकत्वमा माननीयहरु महेशदत्त जोशी, अक्कल रावल, पुर्णा जोशी, प्रेम प्रकाश भट्ट र सामाजिक विकास समिति सदस्य ग्याल्पु बोहरा रहनु भएको टोलीले आलितालमा भएको वन फडानी तथा पहिरो पिडितहरुको अनुमगन गर्नु भएको थियो ।