डोटीको बुडर-जोरायल सडकखण्डमा रिठासम्म पिच गर्ने कार्य अन्तिम चरणमा
काममा ढिलाइ र गुणस्तर भने नभएको गुनासो
अमृत ओली
मंसिर ४, डोटी ।
डोटीको बुडर-जोरायल सडकखण्डमा रिठासम्मको पिच गर्ने कार्य अन्तिम चरणमा पुगेको छ । वि.सं. २०७४ असार ४ मा उक्त सडक पिच गर्ने जिम्मेवारी राजेन्द्र निर्माण सेवाले प्राप्त गरी ठेक्का सम्झौता भएको थियो ।
बुडरदेखि रिठासम्म १० किलोमीटर पिच गर्न २१ करोड ३९ लाख २२ हजार ४ सय ४० रुपैयामा ठेक्का सम्झौता भएको थियो ।
उक्त सडकको ८०% काम सकिएको सुदूरपश्चिम प्रदेश सरकार भौतिक पुर्वाधार विकास मन्त्रालय अन्तरगत पुर्वाधार विकास कार्यालय डडेल्धुराका निमित्त डिभिजन प्रमुख अनिल भट्टले जानकारी दिए । तर ठेक्का सम्झौता अनुसार २ बर्षभित्रसम्पन्न गरि सक्नुपर्ने उक्त सडकको म्याद २०७६ असार मसान्त सम्झौता सकिएर पहिलो पटक म्याद थप गरिएको थियो । एक बर्ष म्याद थपेर पनि निर्माण कार्य सम्पन्न नभएपछि पुर्वाधार विकास कार्यालय डडेल्धुराले पुनः गत असारमा दोश्रो पटक म्याद थप गरि चालु आर्थिक वर्षको आगामी चैत मसान्तसम्म सम्पन्न गरिसक्नुपर्ने भनेको छ ।
यद्यपि उक्त पिच गर्ने क्रममा निर्माण कम्पनीको लापरबाहीले सडक गुणस्तरीय नभएको जन गुनासो छ । कालोपत्रे (डिबिएसटी) पहिलो फेज अन्तरगत सब ग्रेड (सम्याउने ग्रेडिङ गर्ने, कम्प्याक्सन गर्ने) नगरी दोस्रो फेज सब बेस गरेको पानी पिच गरिएको जनगुनासो छ ।
कालोपत्रेका लागि ३ पटक गर्नुपर्नेमा १ पटक मात्रै सब ग्रेड गरीएको छ भने मेसिनरी वाल, नालीको डिजाइन स्टिमेटभन्दा गुणस्तरहिन काम भएको छ । त्यस्तै जहाँ ढुंगा गिट्टी पाइयो त्यही ठाउँमा वालहरु बनाइएको छ भने मेसिनरी वालमा १-४ को मसला हुनुपर्नेमा १-८ को मसला हालेको फिल्डमा देखिएको छ ।
उक्त सडकको पिच निर्माण सम्पन्न नहुदै भत्किएको पनि छ ।
यसैगरी गत असार मसान्तसम्म १४ करोड १३ लाख ९८ हजार ८ सय ३ रुपैया भुक्तानी भैसकेको पुर्वाधार विकास कार्यालय डडेल्धुराका निमित्त डिभिजन प्रमुख भट्टले बताए ।
पिच गर्ने पेटी ठेकेदार रुपलाल पाण्डेका अनुसार कोभिड-१९ को प्रभावका कारण काममा ढिलाइ भएको लगाएत कारण देखाएर पन्छिन खोजेका छन् ।
पछिल्लो म्याद थप अनुसार अब २०७८ चैत मसान्तसम्म पिच निर्माण सम्पन्न नगरे निर्माण कम्पनीलाई १०% जरिवाना गरिने जनाइएको छ ।
सडक कालोपत्रे गर्ने कार्यमा गुणस्तर नहुनु र ढिलाइ हुनुमा सम्बन्धित स्थानीय सरकार सङ्गै अन्य सरोकारवालाको पनि त्यति ध्यान जान सकेको छैन ।