लक्ष्मी सरस्वती बहुउद्देश्यीय सहकारीको १५ औं साधारणसभा एवं एकाइ भेला शुरु
पौष २१, डोटी (जोरायल) ।
डोटीको जोरायलमा रहेको स्थापित लक्ष्मी सरस्वती बहुउद्देश्यीय सहकारी सँस्था लिमिटेडको १५ औं वार्षिक साधारण सभा एवं एकाइ भेला बुधबारदेखि शुरु भएको छ ।
वि.सं. २०६४ सालमा स्थापित उक्त सहकारीको केन्द्रिय कार्यालय जोरायल गाउँपालिका वडा नम्बर ४ को सिलङ्गीबागमा साधारण सभा एवं एकाइ भेला शुरु भएको हो ।
कार्यक्रममाआज बुधबार र भोलि बिहीबारसम्म दुई दिन संचालन हुने कार्यक्रममा विभिन्न ११ वटा विषयमा छलफल हुने सो सहकारी सँस्थाका अध्यक्ष लोक बहादुर थापाले जानकारी दिए ।
एउटै कार्य क्षेत्रमा समान प्रकृतिका सहकारी संचालन हुँदै आएकोमा सुदूरपश्चिम प्रदेश सहकारी ऐन २०७५ र सुदूरपश्चिम प्रदेश सहकारी नियमावली २०७६ बमोजिम उक्त लक्ष्मी सरस्वती बहुउद्देश्यीय सहकारीसङ्ग हालै मात्र पिनाकेश्वर महिला वचत तथा ॠण सहकारीको एकीकरण भएकोले संचालक समिति र लेखा सुपरिवेक्षण समिति पनि चयन हुने जनाइएको छ ।
जोरायल गाउँपालिका वडा न ४ लक्ष्मीनगरको सिलङ्गीबागमा ३ रोपनी आफ्नै जमीन, २ वटा पक्की र एउटा कच्ची भवन रहेको उक्त सहकारीले बडिकेदार गाउँपालिकाको विपिनगरमा र जोरायल गाउँपालिका वडा नम्बर २ बुडरमा पनि सेवा केन्द्र कार्यालय स्थापना गरेर सेवा प्रदान गर्दै आएको छ ।
कार्यक्रममा प्रमुख अथितीको रूपमा बोल्दै जोरायल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र सिंह ठगुन्नाले नेपालमा सहकारीमार्फत स्थानीय श्रोत साधनको पहिचान गरेर सदुपयोग गर्दै देश विकासमा महत्त्वपूर्ण भुमिका खेलेको बताए ।
उनले जोरायल गाउँपालिकाभित्र जम्मा २३ वटा सहकारी दर्ता रहेकोमा लक्ष्मी सरस्वती बहुउद्देश्यीय सहकारीले राम्रो काम गरेकोमा प्रशंसा गर्दै आगामी दिनमा थप प्रगतिको कामना गरे ।
उक्त सहकारीले १५ औं साधारणसभामा विभिन्न क्षेत्रमा उत्कृष्ट ५ जनालाई सम्मान पनि गरेको छ ।
सम्मानित हुनेमा उत्कृष्ट साधारण वचतकर्ताका रूपमा भजनीदेवी कपड्याल, उत्कृष्ट शेअर पुजीकर्ताबाट हर्क बहादुर मल्ल, उत्कृष्ट कर्जा सदुपयोगकर्ता लाल बहादुर मडै र भागरथी देवी कठायत तथा उत्कृष्ट नियमित कारोबार गर्ने विष्णी सार्की रहेका छन् ।
लक्ष्मी सरस्वती बहुउद्देश्यीय सहकारी सँस्थाले हाल २० करोडभन्दा बढीको कारोबार गरिरहेको सो सहकारीका प्रमुख कार्यकारी अधिकृत ठक्कर बहादुर कठायतले जानकारी दिए ।
वि.सं. २०६४ सालमा स्थापित लक्ष्मी सरस्वती बहुउद्देश्यीय सहकारीले गरेका कामहरूको मुल्यांकन गर्दै वि.सं. २०६५ सालमा जिल्लामै उत्कृष्ट पुरस्कार प्राप्त गरेको थियो भने २०७४ सालमा प्रदेशको उत्कृष्ट सहकारीका रूपमा तत्कालीन उप-राष्ट्रपति नन्द बहादुर पुनबाट सम्मानित भएको थियो । साधारणसभा कार्यक्रममा जोरायल गाउँपालिकाका जनप्रतिनिधि, सहकारी सँस्थाका पदाधिकारी, शेअर सदस्य, पत्रकार र स्थानीयबासिन्दाहरुको उल्लेख्य सहभागिता रहेको छ ।