कविता : के हो त एमसीसी ?

464

– हिक्मत शाही
कोही भन्छन् एमसीसी
मधुको सीसी हो ,
कोही भन्छन् एमसीसी
मदिराको सीसी हो ,
कैसैलाई मधुमास जस्तो लाग्छ
कसैलाई मधुशाला जस्तो लाग्छ
कसैलाई बेकार
अनि
कसैलाई खास जस्तो लाग्छ ,
त्यसोभए के हो त
एमसीसी ?
कोही सडकमा उभिएर
राष्ट्घाती एमसीसी
खारेज हुनुपर्छ भन्छन्,
कोही सदनमा उभिएर
राष्ट्र निर्माता एमसीसी
पारित हुनुपर्छ भन्छन् ,
कसैलाई सन्जीवनी जस्तो लाग्छ
कसैलाई विष जस्तो लाग्छ
कसैलाई तृप्ति
अनि
कसैलाई नशा जस्तो लाग्छ ,
त्यसोभए के हो त
एमसीसी ??

कोही भन्छन् एमसीसी
सर्प जस्तो लाग्छ
कोही भन्छन् एमसीसी
रुख जस्तो लाग्छ ,
कोही भन्छन् एमसीसी
नाङ्ला जस्तो लाग्छ
कोही भन्छन् एमसीसी
पहाड जस्तो लाग्छ ,
कसैकसैलाई यो एमसीसी
हात्ती जस्तो लाग्छ
कसैकसैलाई अनि फेरि
हात्ती छाप चप्पल जस्तो लाग्छ ,
त्यसोभए के हो त
एमसीसी ???
कोही एमसीसीका
सगोत्री जस्ता
कोही एमसीसीका
परचक्री जस्ता ,
कसैलाई एमसीसी देख्दा
ताली ठोक्न मनलाग्छ
कसैलाई एमसीसी देख्दा
गाली खोक्न मनलाग्छ ,
कोही हेरिरहनु पर्ने
पागल प्रेमी जस्ता
कोही हेर्नै नचाहने
खानदानी दुस्मन जस्ता ,
कसैकसैलाई यो एमसीसी
माया जस्तो लाग्छ ,
कसैकसैलाई अनि फेरि
मृगतृष्णा जस्तो लाग्छ ,
त्यसो भए के हो त
एमसीसी ????
कोही भन्छन् एमसीसीले
विकास ल्याउँछ
कोही भन्छन् एमसीसीले
विनाश ल्याउँछ ,
र त
कोही मक्ख छन्
कोही हक्क न बक्क छन्
त्यसैले त
कसैलाई एमसीसी
अपार निवेश जस्तो लाग्छ ,
कसैलाई एमसीसी
अविच्चिन्न दासता
अनि
उपनिवेश जस्तो लाग्छ ,
त्यसो भए के हो त
एमसीसी ?

(लेखक श्री पद्म पब्लिक मुक्ति नारायण मावि डोटीका शिक्षक हुनुहुन्छ ।)

Leave A Reply

Your email address will not be published.