केहि एमाले छोडेकाहरुले एमाले सिध्याउँछौं भन्नु झिंगाले हात्तीलाई लात हान्नु जस्तै हो –ओली
फाल्गुन २, डोटी ।
नेकपा एमालेका पोलिट ब्युरो सदस्य एवं डोटी इञ्चार्ज गौरी ओलीले अवसरका लागि केहि एमाले छोडेर गएकाहरुले एमाले सिध्याउँछौं भन्नु झिंगाले हात्तीलाई लात हान्नु जस्तै भएको बताएकी छन् ।
नेकपा एमाले दिपायल सिलगढी नगर कमिटीले सोमबार डोटीको सिलगढीमा आयोजना गरेको विस्तारित बैठक तथा अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताइएकी हुन् ।

एमाले जनताको प्यारो र आफैमा एक विशाल पार्टी भएकाले एमालेलाई कुनै अमुक पार्टी वा शक्तिले जित्न नसक्ने उनले दावी गरिन् ।
एमालेले देश र जनताको पक्षमा थुप्रै विकासका कामहरु गरेर लोकप्रियता बढाउँदै गएपछि स्थानीय निर्वाचनदेखि वर्तमान सत्ता गठबन्धनमा रहेका दलहरु डराएर विभिन्न वाहानाबाजी गरी निर्वाचन गर्न नचाहेको उनले बताईन् ।
कुनै पनि हालतमा स्थानीय तहको निर्वाचन गराउन नचाहेका सत्ता साझेदार दलहरु एमसिसिको हाउगुजी छर्ने, प्रधानन्यायाधीशमाथि महाअभियोग लगाउने जस्ता विवादहरु सिर्जना गरिरहेको उनले आरोप लगाईन् ।
सत्ता मात्रै जोगाईरहने र स्थानीय तहको निर्वाचन नगरी संविधानलाई नै तुहाउने दाउमा रहेको सरकारले एमालेको चौतर्फी दवावका कारण आगामी बैशाख ३० गतेका लागि निर्वाचनको मिति तोक्न बाध्य भएको उनको भनाई थियो ।
निर्वाचनको मिति तोकिएपश्चात नेकपा एमालेको डोटी जिल्लामै निर्वाचन लक्ष्यित पहिलो कार्यक्रम आयोजना गरेकोमा दिपायल सिलगढी नगरपालिका कमिटीलाई धन्यवाद दिंदै ओलीले यसपूर्व एमालेले जितेका स्थानहरुमा थप शानदार मतका साथ जित हासिल गर्न र यसभन्दा पहिले पराजित स्थानमा समेत विजय हासिल गर्न सबै तहका नेता, कार्यकर्ता र आम जनताहरुले लाग्न उनले सबैमा आग्रह गरिन् ।
त्यस्तै नेकपा एमाले डोटीका अध्यक्ष चक्र मल्लले केहि लोभीपापीहरु एमाले पार्टीले गरेको लगानी र जनताले दिएको साथलाई लत्याएर अन्यत्रै बाटो मोडेको बताए । एमाले छोडेर जानेहरुलाई ‘धुन्धकारीहरु’को संज्ञा दिंदै कोहि मन्त्री पद जोगाउन, कोहि राजदुत र कोहि आयोगका नियुक्ती हत्याउने लोभमा फसेको बताए । अध्यक्ष मल्लले ‘आमाको दुध चुसेर त भएन, बुबाको घुँडा चुसेर हुन्छ त’ भन्दै एमाले छोडेकाहरुलाई व्यङ्ग्य समेत गरे ।

कार्यक्रममा बोल्दै एमाले डोटीका उपाध्यक्ष एवं दिपायल सिलगढी नगरपालिका प्रमूख मञ्जु मलासीले नेकपा एमालेको प्रमूख प्रतिष्पर्धा नेपाली काँग्रेससङ्ग भएको बताईन् । पछिल्लो चरणमा एमालेबाट केहि नेताहरु सहित विभाजन भएर अर्काे पार्टी खोलेको भए पनि विपक्षीहरुले हल्ला गरेजस्तो एमालेको जनमत कमजोर नभएको बताईन् ।
एमाले नै जनताको पार्टी भएकाले जनताको सेवा गर्न एमालेकै सरकार आवश्यक रहेको औंल्याउँदै मलासीले एमालेको पक्षमा सबैले जिम्मेवार भएर लाग्न आग्रह गरिन् ।
विशेष गरी पछिल्लो समयमा दिपायल सिलगढी नगरपालिकाभित्र राजनीति नै नबुझेका एवं हिजो अस्ती मात्रै राजनीतिमा आएका व्यापारीले कम्बल बाँडेर राजनीति गर्न खोजेको बताईन् ।

यसैगरी नेकपा एमालेका पूराना नेता सचिदानन्द जोशीले डोटी जिल्ला सदरमुकाम रहेको दिपायल सिलगढी नगरपालिकामा जसरी पनि एमालेको जित सुनिश्चित हुनेगरी लाग्नुपर्नेमा जोड दिए । उनले भने–‘जिल्लाको मुटुमा रहेको नगरपालिका नै जित्न नसके अन्य पालिकामा जितेर अर्थ हुदैन ।’

कार्यक्रममा एमाले सुदूरपश्चिम प्रदेश कमिटि सदस्य विजयराज श्रेष्ठ, मदन भण्डारी, जिल्ला नेता लक्ष्मण मलासी, सचिदानन्द जोशी, दान बहादुर साउँद लगाएतले सम्बोधन गरेका थिए । कार्यक्रममा सैयौंको संख्यामा सहभागि उपस्थित भएका थिए ।
