एक छात्राको शिक्षकलाई निमन्त्रणा !!

733

दोलखाको दुर्गम क्षेत्रकी कक्षा ८ मा पढ्ने छात्रले आफ्नो शिक्षकलाई पत्र लेखिन्। 

शर नमस्कार !

धेरै सम्झना । हामी आजसम्म सुरक्षित छौँ । आशा छ तपाईं पनि सुरक्षित हुनुहुन्छ होला।

तपाइँसग भेट नभएको पनि ५ महिना बितिसक्यो । विगतमा विद्यालयमा बिताएका पलहरु सम्झदैँ दिनहरु बिताइरहेकी छु । चलिरहेको वार्षिक परीक्षा अचानक स्थगित हुँदा कत्ती नरमाइलो लागेको थियो। नतिजा प्रकाशन भएको धेरै दिनपछी मात्र थाहा पाएँ। मेरो घर विद्यालयबाट धेरै टाढा छ, स्कुल जाँदा दिनहुँ ३ घण्टा हिँड्नुपर्छ । मेरो गाउँबाट विद्यालय पढ्न जाने म मात्र भएकोले विद्यालय खुल्ने र पढाइ हुने सम्बन्धमा कुनै सुचना प्राप्त गर्न सकेकी छैन।परिक्षामा पास भएको थाहा पाइसकेपछी कक्षा ९ को किताबहरु खोज्ने प्रयास गरेँ। केही किताबहरु खोजेर आज पनि पढ्न मन लागिरहन्छ। तर घर गाउँमा सिकाइदिने कोहि नभएकोले अध्ययन प्रतिको वितृष्णा सुरु भएको छ।

मेरो घरमा सुचना प्राप्त गर्ने एउटै माध्यम छ, पुरानो रेडियो । निक्कै नजिकबाट ध्यान दिएर सुनेमात्र बुझिन्छ । नत्र झ्यारझ्यार मात्र। फोन गर्नका लागि एउटा सानो मोबाइल छ, तर फोन गर्नुपरेमा आधा घण्टा हिँडेर माथी डाँडामा जानुपर्छ। प्राय हरेक महिना माथी गएर बाबालाई र आफन्तहरुलाई फोन गर्छौँ। तर पछिल्लो २ महिना देखि गाउँमा रिचार्ज नपाउँदा फोन गर्नै पाएको छैन । असारसम्म त चन्द्रे साउले लकडाउन छ भन्दै रु १०० को रिचार्ज रु १५० मा दिनुहुन्थ्यो । अहिले त त्यही पनि छैन भन्नुहुन्छ। देशमा लकडाउन थपिँदै गएको खबर सुनिदैछ। यसले हाम्रो जिन्दगि पनी लक हुँदै गएजस्तो लागिरहेको छ।

मेरो परिवारमा ६ जना छौँ। बाबा काठमाडौंमा काम गर्नुहुन्छ। ममि, ३ जना भाइबहिनि र म घरमा बस्छौँ। केही महिना अघि बाबालाई फोन गर्दा काठमाडौँमा कोठाबाट बाहिर निस्किनै पाइँदैन भन्नुहुन्थ्यो। काम नहुँदा छाक टार्न समेत निक्कै धौ–धौ भएको कुरा भावविह्वल भएर सुनाउनु भएको थियो । ममिले आँखाभरी आँसु पार्दै घर फर्कन भन्दा बाबाले भन्नुभयो ‘सानी, घर आएर के गर्नु ? गाउँमा खेती गर्ने जमिन धेरै छैन , भोकभोकै बस्नुपर्छ। बरु २/४ दिनपछि लकडाउनसकियो भने म केही पैसा जम्मा गरेर पठाउँला।’ बाबाले यसो भनेको आज २ महिना बित्यो तर……

भाइहरु र बहिनी दिनभरी खेलेर बस्छन । मैले धेरै काम गर्नुपर्छ । खाना पकाउने, भाँडा माझ्ने, बाख्राबस्तु चराउने , घाँस काट्ने, खेतबारीमा काम गर्ने जस्ता काम गर्दागर्दै दिनहरु बित्छन् ।अब त स्कुल जाने र पढ्ने आशा मर्न थालिसक्यो। पुस्तकहरु सँगै रमाउने म पुस्तक देख्दा तर्सिने भएकी छु। रेडियोमा पढाइ हुन्छ भन्ने थाहा पाएर धेरै पटक सुन्ने र बुझ्ने प्रयास गरेँ। निक्कै दिनसम्म यो प्रक्रिया चलिरह्यो। पढाइमा मन जान थालिसकेको थियो। केही दिनपछि आफ्ना समस्याहरु सोध्ने ठाउँ नहुँदा समस्याहरुको थुप्रो लाग्यो । रेडियोको झ्यारझ्यार समेत बढ्न थालेपछी रेडियो शिक्षा प्रतिको मोह विलय हुँदै गयो।

अस्ति काठमाण्डौँमा बस्नुहुने सानिमालाइ फोन गर्दा भन्नूहुन्थ्यो उहाँको छोराले त मोबाइलबाट पढ्छ, उसको मोबाइलमा नै शर आउनुहुन्छ रे ! शर म हजुरलाई हृदय देखिनै बिन्ती गर्छु मेरो मोबाइलमा पनि तपाईं आइदिनोस। मलाई तपाइँसग पढ्ने ठूलो इच्छा छ। धेरै समय भयो म सोचिरहेकी छु कसरी आउनुहुन्छ होला शर हाम्रो मोबाइलमा । आजकै दिनदेखी म प्रतीक्षा गर्नेछु । तपाईं जरुर आउनुहुनेछ। किनकी तपाईं हामिलाई असाध्यै माया गर्नुहुन्छ। आजसम्म हाम्रा सबै जिज्ञासाहरु पूरा गराउनु भएको छ र यो पनि पूरा हुनेछ।

अन्त्यमा,

हाम्रो गाउँघरमा पनि कोरोना भाइरस आइसकेको छ भन्ने सुनिन्छ। तपाईं पनि सुरक्षित बस्नुहोला। छिट्टै विद्यालय खोल्ने र पढ्ने व्यवस्था मिलाइदिनु होला। स्कुल नजाने म सँगैका धेरै साथिहरुको विहे भैसक्यो, यसैगरी विद्यालय बन्द भैरहेमा मेरो पनि घरमा विहेको कुरा चल्नेछ । म धेरै पढ्न चाहन्छु । सफल बन्न चाहन्छु। बालविवाहको चपेटामा पर्न चाहन्न।

तपाइँले पक्कै सहयोग पुर्याउनुहुनेछ भन्ने अपेक्षा गर्दछु। धन्यवाद !!

उही तपाइँको

प्यारो विद्यार्थि

 

(काल्पनिक यस रचनाका लेखक धुर्व ढुङ्गेल, कालिञ्चोक गाउँपालिका–३, दोलखाका बासिन्दा हुन् ।)

Leave A Reply

Your email address will not be published.