“बरु एकै महीना डोटी बसौंला, राजनीतिक दवावमा काम गर्दैन”- एसपी चौधरी

1,503

फाल्गुन २०, डोटी ।
डोटीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) शारदाप्रसाद चौधरीले कुनै पनि काम राजनीतिक दवावमा रहेर नगर्ने बताएका छन् ।
भर्खरै सरुवा भएर यही फाल्गुन १५ गते मात्रै डोटी पुगेका एसपी चौधरीले शुक्रबार जिल्ला प्रहरी कार्यालय डोटीमा आयोजना गरेको जिल्लामा क्रियाशील सञ्चारकर्मीसङ्गको परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रममा यस्तो बताएका हुन् । पत्रकारहरु उठाएका जिज्ञासा, गुनासा र सुझावपछि उनलेे भने-“बरु एकै महीना डोटी बसौंला, राजनीतिक दवावमा काम गर्दैन ।”
कार्यक्रममा उपस्थित सञ्चारकर्मीहरुले डेढ दर्जनभन्दा बढी विषयहरु उठान गरेका छन् ।
मुख्यत: जिल्लामा शान्ति सुरक्षामा असर गर्दै आएको मदिराजन्री क्रियाकलापको व्यवस्थापन हुनुपर्ने, सञ्चारमाध्यमबाट उठान गरिएका विषयलाई आधार मानेर कार्यान्वयन गरिनुपर्ने, बेला-बेलामा प्रहरीसङ्ग ठोकिँदै आएका विषयहरु प्रहरीले सप्रमाण प्रष्ट पार्नुपर्ने, बजारमा अस्तब्यस्त राखिने सवारीसाधनको व्यवस्थापन गरिनुपर्ने, प्रहरीले राजनीतिक संघसंगठनका र व्यक्तिका कुरा सुन्ने प्रवृत्तिको अन्त्य हुनुपर्ने विषय जोडदार रूपमा उठाएका छन् ।
त्यस्तै प्रहरीलाई प्राप्त हुने समाचार बन्ने सूचनाहरु सक्दो छिटो सञ्चारमाध्यमलाई जानकारी गराउनपर्ने, नियम विपरीत सञ्चालन गरिने सरकारी सवारी साधनलाई कारवाही गरिनुपर्ने, कतिपय मुद्दा  दर्ता गर्नै नमान्ने र कतिपय मुद्दा जवरजस्त दर्ता गराउन लाउने गुनासा नआउने गरि काम गर्नुपर्ने, क्षमताभन्दा बढी यात्रु राख्ने, बिना इजाजत सवारी चलाउने सवारी साधनको चेकजाँचमा कडाइ गर्नुपर्ने कुरा पनि सञ्चारकर्मीहरुले उठाएका छन् ।
कतिपय ठाउँमा बर्दीमै रहेका प्रहरीले मदिरा सेवन गरेको पाइने गरेको र कतिपय प्रहरीले बोल्ने शैलीमा पनि सुधार गर्नुपर्ने, प्रहरीमा कुनै विषयको सुराक दिएमा उक्त व्यक्ति सुरक्षित नदेखिने गरेको, विभिन्न घटनामा प्रहरीबाट नै आर्थिक लेनदेन हुने गुनासा आउने गरेको, गाउँ-गाउँमा गस्ती बढाउनुपर्ने लगाएतका समसामयिक सवाल उठान गरेका छन् ।
सरकारले आगामी बैशाख ३० गतेका लागि स्थानीय तहको निर्वाचन मिति घोषणा गरिसकेको अवस्थामा निर्वाचन सम्बन्धि आवश्यक शान्ति सुरक्षामा ध्यान दिन पनि प्रहरीलाई सुझाव दिईएको छ ।
सञ्चारकर्मीले उठान गरेका विषयहरुमा एसपी चौधरीले प्रहरीले गर्नुपर्ने काम प्रहरीकै संयन्त्रबाट र अन्य निकायबाट हुने काम समन्वय र सहकार्य गरेर कार्यान्वयन गरिने वचन दिएका छन् ।
कार्यक्रममा प्रहरी इन्स्पेक्टर द्वय कान्तिराज जोशी, रविन्द्र चन्द, प्रहरी सहायक निरीक्षक राम नाथ र सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।

Leave A Reply

Your email address will not be published.