पर्यटन मन्त्री आलेले गरे ‘रुपसकाँडा, छहरा एवं बाँझिलेक क्षेत्रमा पूर्वाधार निर्माण’ आयोजना शिलान्यास
असार ११, डोटी ।
डोटीको जोरायल गाउँपालिका वडा नम्बर २ मा ‘रुपसकाँडा, छहरा एवं बाँझिलेक क्षेत्रमा पूर्वाधार निर्माण’ आयोजनाको शनिबार शिलान्यास गरिएको छ ।
सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले उक्त आयोजनाको एक कार्यक्रमकाबिच शिलान्यास गरेका हुन् ।
क्रमागत योजनाका रूपमा कार्यान्वयन हुने उक्त आयोजना अन्तरगत रु. ९ करोडको लागतमा रुपसकाँडा र बाँझिलेकमा होमस्टे, छहरा झरना स्थलमा शिव जीको मुर्ति, रुपसकाँडा-बाँझिलेक जोड्ने सडक निर्माण, छहरा झरना जाने सडक स्तरोन्नति, सेल्फी प्वाइन्ट लगाएतका पुर्वाधार एकीकृत रूपमा निर्माण गरिने बताइएको छ ।
पर्यटन मन्त्री आलेको गृह वडा समेत रहेकोे क्षेत्रमा निर्माण गरिने उक्त आयोजनाको शिलान्यास गर्दै मन्त्री आलेले स्थानीय जनताले आफ्नो ठाउँ कस्तो बनाउने भनेर चासो र चिन्ता लिन आग्रह गर्दै बजेट व्यवस्था गर्ने जिम्मेवारी आफ्नो रहने प्रतिवद्धता जनाए ।
छिटफुट रूपमा पर्यटकको रोजाइ र गन्तव्य बनेको भए पनि कोरोना कहरले थन्किएको र थलिएको समयमा गत वर्ष मात्रै छहरा झरनामा दैनिक हजारौंको संख्यामा आन्तरिक र बाह्य पर्यटक भित्रिएका थिए ।
धार्मिक तथा पर्यटकीय क्षेत्र छहरा झरना हेर्न विशेष गरेर कैलाली, कंचनपुर, सुदूरपश्चिमका पहाडी जिल्ला सङ्गै पुर्वी नेपालका जिल्लाहरू र छिमेकी मूलुक भारतबाट समेत पर्यटक आउने गरेका छन् ।
सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री आलेको पहलमा
डोटीको बडीकेदार, शैलेश्वरी लगाएत खप्तड-मानसरोबर सम्मको विकासका लागि र देशका थुप्रै महत्त्वपूर्ण पर्यटकीय क्षेत्रमा मन्त्री आलेको ठुलो योगदान रहेको पर्यटन बोर्डका अध्यक्ष चन्द्र रिजालले बताए ।
आयोजना शिलान्यास कार्यक्रममा पर्यटन विभागका महानिर्देशक तारानाथ अधिकारी, नेपाल कम्युनिष्ट पार्टि एकीकृत समाजवादी डोटीका अध्यक्ष दीर्घराज बोगटी, जोरायल गाउपालिका वडा नम्बर २ का वडा अध्यक्ष बिर बहादुर दर्लामी, विभिन्न सरोकारवालाहरु, पत्रकार लगाएतको सहभागीता रहेको थियो ।