डोटीबाट प्रतिनिधि सभामा गठबन्धनका उम्मेदवार आले विजयी

324

मंसिर ८, डोटी ।
डोटीमा प्रतिनिधि सभा सदस्यमा लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवार नेकपा (एकिकृत समाजवादी) का पोलिट ब्युरो सदस्य प्रेमबहादुर आले विजयी भएका छन् ।
मुख्य निर्वाचन अधिकृत शिवलाल पाण्डेका अनुसार आलेले २७,२१० मत प्राप्त गरेका छन् भने उनका प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार गौरी कुमारी ओलीले २३,००४ मत प्राप्त गरेकी छन् ।
उनीहरुबिचको मतान्तर ४,२०६ रहेको छ ।
आले यसभन्दा पहिले २०७४ सालमा पनि नेकपा एमालेबाट नेपाली काङ्ग्रेसका बिरबहादुर बलायरलाई पराजित गर्दै प्रतिनिधि सभामा विजयी भएका थिए । उनलेे यस पूर्व वन मन्त्रालय र पर्यटन मन्त्रालय पनि सम्हालिसकेका छन् ।
एमाले उम्मेदवार ओली पहिलोपटक प्रतिनिधि सभाका लागि प्रत्यक्षतर्फ निर्वाचनमा प्रतिष्पर्धा गरेकी हुन् । उनी २०७० सालमा संविधान सभामा समानुपातिकतर्फबाट संविधान सभा सदस्य बनेकी थिइन्  ।
एमाले पोलिट ब्युरो सदस्य एवं प्रतिनिधि सभा सदस्य उम्मेदवार ओली डोटीको राजनीतिक इतिहासमा प्रत्यक्षतर्फ निर्वाचनमा प्रतिष्पर्धा गर्ने पहिलो महिला हुन् ।
यस्तै क्रस खुकुरी चुनाव चिन्ह पाएका स्वतन्त्र उम्मेदवार नरेन्द्र बहादुर खड्काले ६,६८९ मत, राप्रपाका अंक बहादुर खड्काले ८०२ मत, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार केशव बलायरले ७७४ र माछा चुनाव चिन्ह पाएका अर्का स्वतन्त्र उम्मेदवार राजप्रसाद जोशीले १०४ मत प्राप्त गरेका छन् ।
कूल १ लाख २४ हजार ८७० मतदाता रहेको डोटीमा ६३ हजार ५५२ मत खसेको थियो । जसमध्ये ५८,५८३ मत सदर भएको छ भने ४,९६९ मत बदर भएको छ ।

Leave A Reply

Your email address will not be published.