डोटीको पुर्वीचौकीमा एमालेको शुभकामना तथा चियापान कार्यक्रम सम्पन्न

988

कार्तिक १५, डोटी ।
डोटीको पुर्वीचौकी गाउँपालिकामा नेकपा (एमाले) गाउँपालिका कमिटीको आयोजनामा दशै, तिहार तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा बोल्दै नेकपा (एमाले) डोटी जिल्ला कमिटी अध्यक्ष एवं सुदूरपश्चिम प्रदेश सभा सदस्य चक्र मल्लले विभिन्न समयमा देखिएका तिख्तता मेटाउन, आपसी सम्बन्ध, समन्वय सहकार्यका लागि शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम महत्त्वपूर्ण भएको बताए ।
एउटै परिवारका सदस्यहरुमा फरक विचार र आस्था हुनसक्ने भन्दै राजनीति विचार शुन्यता नहुने बताए । तर राजनीतिक आस्थाकै आधारमा आपसमा विभेद राख्न नहुने भन्दै ‘मल्टीपार्टी’ अवधारणा अनुसार सकारात्मक प्रतिस्पर्धा, सहकार्य र सह-अस्तित्वमा सबैलेे जोड दिनुपर्ने उनलेे बताए ।
पुर्वीचौकी गाउँपालिकाको हकमा २०७९ सालमा आएको भुकम्प प्रभावितको समस्या बारे आफुले प्रदेश सभामा जोडदार रूपमा विषय उठान गरेको स्मरण गराए । साथै प्रदेश सरकारलाई उक्त समस्या बारे दुर दृष्टि राख्न र जनताको कुरा सुन्ने गरि एअर फोन किन्न भनेर व्यङ्ग्य स्वरुप प्रदेश सरकारलाई रु. ५ हजार ५ सय प्रदान गरेको पनि स्मरण गरे ।
यस बारे संघ र प्रदेश सरकारले कुनै सम्बोधन नगरेको अवस्थामा पुर्वीचौकी गाउँपालिकाले रु १ करोड बजेट विनियोजन गरेको र त्यो रकम निकै कम हुने हुँदा मिल्नेसम्मका सबै योजना संशोधन गरेर पनि भुकम्प प्रभावित परिवारलाई सहयोग गर्नुपर्ने सुझाव दिए ।
शक्तिको आडमा डडेल्धुरा र बाजुराका लागि एकीकृत बस्ती विकासका कार्यक्रम प्राथमिकता पर्ने तर डोटीको पुर्वीचौकीका भुकम्प प्रभावितका लागि सुदूरपश्चिम प्रदेश सरकारबाट बजेट विनियोजन नहुनू दु:खद भएको उनको भनाइ थियो ।
त्यस्तै देशको पछिल्लो अवस्था बारे बोल्दै अध्यक्ष मल्लले जनताको काम गर्न नसक्दा राजनीतिक दल र संघीयता बारे उठिरहेका प्रश्न स्वभाविक देखिन थालेको उनले बताए ।
उनलेे भने-“अहिलेको अवस्था हेर्दा कसले यो मुलुक सम्हाल्ने हो ? खस्किएको देशको अर्थतन्त्र कसले माथि उठाउने हो ? निरन्तर विदेशिने शिक्षित र युवा जनशक्ति कसले रोक्ने हो ? राष्ट्रियता र आम नागरिकको सवाल कसले  सम्बोधन गर्ने हो ? जस्ता प्रश्नले मन गिजोलेको छ ।”
यी सम्पूर्ण सवालमा चिन्ता गर्ने जनताको सरकारको आवश्यकता खड्किएको भन्दै यो देशको एक बलियो राष्ट्रिय शक्ति चाहिने हुँदा नेकपा एमालेले मिसन २०८४ लक्ष्यका साथ अगाडि बढिरहेको बताए ।
वर्तमान सरकारले आगामी दिनमा विकासका कुरा त के कर्मचारीलाई तलब मात्रै पनि कसरी खुवाउने भन्ने अवस्थामा पुगिसकेको हुँदा यसको जवाफ २०८४ मा आम जनताले दिनुपर्ने र सबै तहमा एमालेको बहुमतको सरकार बनाउन पर्नेमा मल्लले जोड दिए ।
त्यस्तै नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटी सदस्य तथा सुदूरपश्चिम प्रदेश सभा सदस्य निर्मलादेवी साउँदले शुभकामना कार्यक्रममा अन्य विषयमा बोल्नुभन्दा पनि चाडपर्वका नाममा जुवातास, मदिराको कारोबार नियन्त्रण र विकृति विसङ्गती नियन्त्रणमा जोड दिनुपर्ने बताइन् ।
त्यस्तै कार्यक्रमका विशिष्ट अतिथि पुर्वीचौकी गाउँपालिकाका उपाध्यक्ष एवं नेपाली काङ्ग्रेस डोटी जिल्ला कमिटी सदस्य पशुपति देवी खड्काले एमालेले आयोजना गरेको कार्यक्रममा आफुलाई पनि बोलाएकोमा धन्यवाद सहित शुभकामना व्यक्त गरिन । साथै पुर्वीचौकी गाउँपालिकाबारे आउने गुनासा, सुझावलाई आत्मसात गर्दै अगाडि बढ्ने प्रतिवद्धता समेत जनाइन् ।
त्यस्तै कार्यक्रमका विशिष्ट अतिथि पुर्वीचौकी गाउँपालिकाका निवर्तमान अध्यक्ष एवं एमाले नेता दीर्घराज बोगटीले जनप्रतिनिधि, कर्मचारी र जनताबीच सहकारिताको सुमधुर सम्बन्ध हुनुपर्नेमा जोड दिए । कार्यक्रममा उठेका विषयमा बोल्दै कुनै पनि विषयमा तथ्यपरक आलोचना आउनु स्वभाविक भएको तर सबै खालका आलोचना हुनु मात्रै ठुलो कुरा नभएर त्यसको सत्यताको छानबिन पनि हुनुपर्नेमा जोड दिए ।
त्यसैगरी पुर्वीचौकी गाउँपालिका वडा नम्बर ७ का वडा अध्यक्ष एवं नेपाली काङ्ग्रेस पुर्वीचौकी गाउँपालिका कमिटी सचिव प्रेम बहादुर खड्काले नेपाली काङ्ग्रेस नेतृत्वको पुर्वीचौकी गाउँपालिका सरकारले गरेका कामहरु कसले कसरी बुझेका छन् त्यो फरक हो, तर आफुहरुले कुनै अत्याचार नगरेको बताए ।
त्यसैगरी नेकपा माओवादी केन्द्रका पुर्वीचौकी गाउँ कमिटी अध्यक्ष हरिष कुँवरले वर्तमान पुर्वीचौकी गाउँपालिका सरकारले अरु दललाई कुनै सरसल्लाहमा नबोलाएको एवं  समन्वय, सहकार्य, सहअस्तित्वको भावनालाई मान्यता नदिएको बताए ।
त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका पुर्वीचौकी संयोजक टेकराज रावलले पुर्वीचौकी गाउँपालिकाका व्यथितीबारे अरु कार्यक्रममा भन्दै आएको र निरन्तर भन्दै जाने बताउँदै कार्यक्रममा सहभागीलाई शुभकामना दिए ।
यसैबीच नेकपा एमाले डोटीका उपसचिव कृष्ण कुमार खड्काले चाडवाड भनेको लोड बढी भएर कम्प्युटर ह्याङ भए जस्तै वर्षैभरी काममा ह्याङ भएको मानिसले चाड पर्वको माध्यमबाट रिफ्रेस हुने गरी मनाइने ऐतिहासिक, धार्मिक, साँस्कृतिक महत्त्वका सम्पूर्ण चाडपर्वको शुभकामना व्यक्त गरे ।
कार्यक्रममा एमाले नेता देव बहादुर खड्का, पुर्वीचौकी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पितानाथ लुइँटेल, एमाले डोटी जिल्ला कमिटी सचिवालय सदस्य डम्मर सिंह डौडी, जिल्ला कमिटी सदस्य एवं प्रचार तथा प्रकाशन विभाग प्रमुख झलक पाली, जिल्ला कमिटी सदस्यहरु भीम बहादुर धामी, पदम बहादुर धानुक, विष्णु महरा लगाएतले शुभकामना मन्तव्य राखेका थिए ।
सोही कार्यक्रममा नेकपा एमालेले पुर्वीचौकी-५ काणामाण्डौ घर भइ धनगढीमा कक्षा १० मा पढ्दै गरेका विद्युतीय मोटरसाइकल, विद्युतीय दियो, फुटबल खेल्ने रोबर्ट लगाएत यन्त्र बनाउन सफल युवा आविष्कारक पारस साउँदलाई टीका खादा मालाले सम्मान पनि गरेको छ । ती युवा साउदले कार्यक्रममा फुटबल खेल्न र फाइटका लागि प्रयोग गरिने रोवर्ट चलाएर प्रदर्शन समेत गरेका थिए ।
नेकपा (एमाले) पुर्वीचौकी गाउँपालिका कमिटी अध्यक्ष टेक बहादुर बोगटीको अध्यक्षता एवं नेकपा (एमाले) डोटी जिल्ला कमिटी अध्यक्ष चक्र मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नेकपा एमाले पुर्वीचौकी गाउँपालिका कमिटी उपसचिव देव बहादुर भण्डारीले स्वागत मन्तव्य राखेका थिए भने सचीव भरत बिकले कार्यक्रम सञ्चालन गरेका थिए ।

Leave A Reply

Your email address will not be published.