आजदेखि खप्तड र बडिमालिकामा हेलिटुर, दुई सय पर्यटकले भ्रमण गर्ने लक्ष्य

438

माघ ११, डोटी ।
सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकीय गन्तव्य खप्तड र बडिमालिकामा शुक्रबारदेखि हेलिटुरको आयोजना गरिएको छ ।
साताैं साँफेबगर महाेत्सव २०८१ काे अवसरमा  खप्तड होमस्टे झिग्राना र खप्तड एड्भेन्चर टुर्सकाे ब्यवस्थापनमा हेलिटुरको आयोजना गरिएको हो । हेलिटुरमार्फत दुई सय पर्यटकले भ्रमण गर्ने लक्ष्य राखिएकाे खप्तड हाेमस्टे झिग्राना र खप्तड एड्भेन्चर टुर्सका प्रबन्ध निर्देशक दीपकबहादुर खड्काले जानकारी दिए ।
सुदुरपश्चिम प्रदेशमा हेलिटुरबाट धार्मिक पर्यटकीय स्थलकाे अवलोकन गराउन लागिएको याे चाैथाे पटक हाे ।
खड्काका अनुसार बिगतका वर्षहरु जस्तै यस वर्ष पनि हिउँदे सिजनमा पर्यटक भित्र्याउन लागिएकाे हाे । प्राय जसाे हिमपातका सिजनमा  पर्यटककाे आगमन शून्य जस्तै  हुनेभएकाले यस क्षेत्रमा पर्यटककाे चहलपहल बढाउन खाेजिएकाे उनलेे बताए ।
लायन्स क्लब अफ साँफेबगर अछामको आयाेनामा माघ ११ देखि २० गतेसम्म साताैं साफेबगर महाेत्सव २०८१ काे आयोजना हुँदैछ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रि पाण्डेयद्वारा हेलिटुर र महाेत्सवकाे उद्घाटन गरिने  तयारी छ ।
महोत्सवको मुख्य आकर्षकको रुपमा हेलीटुर रहने बताइएको छ। अछाम र बाजुरा जिल्लामा अवस्थित धार्मिक, ऐतिहासिक तथा पर्यटकीय स्थलहरु बडिमालिका, खप्तड, रामारोशन र बैद्यनाथ क्षेत्रलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा प्रचार-प्रसार गरी पर्यटन गन्तव्यका रुपमा स्थापित गर्न हेलीटुर संचालन गर्ने निर्णय भएको आयोजकको भनाइ छ ।
महोत्सव अवधिमा साँफेबगरदेखि खप्तड, बडिमालिका र रामारोशन क्षेत्रमा हेलीकोप्टबाट दर्शन तथा अवलोकन गर्न सकिने छ । साँफेबगर-खप्तड  प्रति व्यक्ति २२ हजार एवं बडिमालिका र रामारोशनसम्म प्रति व्यक्ति २५ हजार रुपैयाँ तिरेर दर्शन तथा अवलोकन गर्न सकिने प्याकेज तयार गरिएको छ ।

Leave A Reply

Your email address will not be published.