एमाले उम्मेदवार धामीले भने – “म सधैं जनताकै साथमा रहनेछु”
रामहरि ओझा/फागुन २३, डोटी ।
नेकपा एमालेको तर्फबाट डोटी जिल्लामा प्रतिनिधि सभा सदस्य उम्मेदवार बनेका दीपक बहादुर धामीले आफु सधैं जनताको साथमा रहने बाचा गरेका छन् ।
निर्वाचनमा निकटतम प्रतिद्वन्दीका रूपमा पराजित भए लगत्तै एक बिज्ञप्ती जारी गर्दै धामीले निर्वाचनको परिणामलाई स्वीकार गर्दै आफु जनताको दुःखसुखमा सधैं संगै रहने बताएका हुन् । उनले भनेका छन् -“पहिलो चोटी निर्वाचन प्रक्रियामार्फत जनताको अदालतमा उपस्थित हुँदा तपाईहरुले गरेको फैसलालाई शिरोधार्य गर्दै अगाडि बढ्ने बाचा गर्दछु ।”
धामीले निर्वाचन सम्पन्न गर्नमा सहयोग गर्ने सबै पक्षलाई धन्यवाद दिएका छन् । “प्रतिकुल परिस्थितिमा समेत मलाई आफ्नो भाई छोरा सम्झेर हाम्रो पार्टी नेकपा एमालेलाई अमुल्य मत जाहेर गर्नुहुने मतदाताप्रति हार्दिक धन्यवाद छ” बिज्ञप्तीमा धामीले भनेका छन् ‘साथै चुनाव सम्पन्न गराउनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने नेपाल सरकार, निर्वाचन आयोग, मुख्य निर्वाचन अधिकृतको कार्यालय, जिल्ला निर्वाचन कार्यालय, प्रमुख जिल्ला अधिकारी लगायत सबै सुरक्षा निकायहरू, चुनावमा खटिनु भएका सबै तहका कर्मचारीहरू, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू, सञ्चारकर्मीहरू, निर्वाचन पर्यवेक्षकहरू लगायत सबैप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछु ।’
धामीले डोटीबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित नेपाली काङ्ग्रेसका उम्मेदवार भरतबहादुर खड्कालाई बधाई दिँदै जिल्लाको समग्र विकासका लागि निरन्तर सहयोगको आश गरेका छन् ।