डोटीमा काँग्रेस उम्मेदवार भरत खड्का विजयी

514

फाल्गुन २३, डोटी ।
प्रतिनिधि सभा सदस्य निर्वाचनमा डोटीबाट नेपाली काँग्रेसका उम्मेदवार भरत बहादुर खड्का विजयी भएका छन् ।
खड्काले १४ हजार ८९७ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार दीपक बहादुर धामीले १४ हजार ११० मत मात्रै प्राप्त गरी दोश्रो भएका छन् । खड्का र धामीबिचको मतान्तर ७ सय ८७ मात्रै रहेको छ ।
मतगणनाको शुरुवातमा बोगटान फुड्सिल, जोरायल, सायल गाउँपालिकाबाट निरन्तर अग्रता ल्याएका एमाले उम्मेदवार धामीलाई बडिकेदार, केआईंसिंह, पूर्वीचौकी गाउँपालिका, शिखर नगरपालिकामा भने काँग्रेस उम्मेदवार खड्काले अग्रता ल्याएका थिए ।
गणनाको अन्तिममा आदर्श गाउँपालिका र दिपायल सिलगढी नगरपालिकाको मत गणना हुँदासम्म पनि निरन्तर अग्रता लिएर खड्काले विजय हासिल गरेका हुन् ।
यसैबिच राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार नरेन्द्र बहादुर खड्का १३ हजार २७० मत प्राप्त गर्दै तेश्रो बनेका छन् भने नेपाली कम्यूनिष्ट पार्टीका उम्मेदवार एवं सुदूरपश्चिमका पूर्व मुख्यमन्त्री त्रिलोचन भट्टले ५ हजार ४ सय १३ मत मात्रै प्राप्त गरी चौथो बनेका छन् ।
डोटीमा जम्मा ९ दलका ९ उम्मेदवार रहेकोमा राष्ट्रिय प्रजातन्त्र पार्टीका खडक बहादुर अग्रवालले ५९४ मत पाउँदा राष्ट्रिय जनमोर्चाका मणिराज भट्टले ४१७ मत प्राप्त गरेका छन् । त्यसै गरी नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का उम्मेदवार प्रकाश कठायतले ३९२, मितेरी पार्टी नेपालका सरस्वती कुमारी पाद (मल्ल) ले ४३ र नेपाल मजदुर किसान पार्टीका खगेन्द्र बहादुर शाहीले ३२ मत प्राप्त गरेको मूख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
नौ वटा स्थानीय तह रहेको डोटीमा कूल १ लाख २८ हजार ३९९ मध्ये ५२ हजार १४२ मत खसेको जनाइएको छ । फाल्गुन २१ गते मतदानको दिन भने डोटीमा ५२ हजार ४ सय ८५ अर्थात ४०.८८ प्रतिशत मात्रै मत खसेको बताइएको थियो । तर मतगणना गर्दा मतपेटिकामा ५२ हजार १४२ मत खसेको जनाइएको छ । त्यसमध्ये ४९ हजार १६८ मत सदर भएको र २ हजार ९७४ मत बदर भएका छन् ।
यसैबीच जित हासिल गरेका नेपाली काङ्ग्रेस केन्द्रिय सदस्य समेत रहेका भरत बहादुर खड्कालाई नेकपा एमालेका उम्मेदवार एवं अनेरास्ववियु केन्द्रिय अध्यक्ष दीपक बहादुर धामी र एमाले केन्द्रिय सदस्य तथा सुदूरपश्चिम प्रदेश सभा सदस्य चक्र मल्लले खादा लगाएर हार्दिकता साथ बधाई दिएका छन् ।

Leave A Reply

Your email address will not be published.