डोटीको चौखुट्टेमा खानेपानी पुग्दा स्थानीय हर्षित
करिब ४ सय मानिस लाभान्वित
असोज ११, डोटी (चौखुट्टे) ।
डोटीको पूर्वीचौकी गाउँपालिका वडा नं. ५ को चौखुट्टेमा खानेपानी योजना निर्माण भई सञ्चालनमा आएपछि स्थानीय खुशी भएका छन् ।
चौखुट्टे खानेपानी योजना निर्माण सम्पन्न भई सो क्षेत्रमा २७ वटा धाराहरु बनेपछि करिब ४ सय मानिसहरु खानेपानीबाट लाभान्वित भएको पूर्वीचौकी गाउँपालिका डोटीका अध्यक्ष दीर्घराज बोगटीले बताए ।
सुदूरपश्चिम प्रदेश सरकारबाट गाउँपालिकालाई प्रदान गरिने गाउँपालिकाकै विषेश बजेटबाट २२ लाखको लागतमा करिब ३ किलोमिटर भन्दा टाढाको दुरीमा रहेको मुहानबाट खानेपानी ल्याईएको अध्यक्ष बोगटीले बताए ।
ऐतिहासिक, धार्मिक र पर्यटकीय सम्भावना बोकेको रानढुङ्गा नजिकै रहेको चौखुट्टेमा स्थानीय तहको निर्वाचनमा आफुले बोलेको चुनावी बाचा पनि भएकाले उक्त बाचा पूरा गरिएको गाउँपालिका अध्यक्ष बोगटीले बताए ।

भौगोलिक रुपमा डाँडाको बस्ती भएको चौखुट्टे पुस्तौंदेखिको स्थानीय व्यापारिक क्षेत्र पनि हो । जहाँ डोटीको पूर्वीचौकी गाउँपालिकाको काँणामाण्डौ, गाँजरी, पोखरी, अछामको चौरपाटी गाउँपालिकाको दुनी, मार्कु लगाएतका मानिसहरुको ब्यापारिक जक्शन हो । त्यहाँ यसपूर्व खानेपानीको चरम अभाव थियो ।
विभिन्न होटेल व्यवसायी, साना उद्योग, सार्वजनिक शौचालय समेत रहेको सो क्षेत्रमा खानेपानी योजना निर्माण भएपछि सहजता आएको छ ।
डोटी र अछाम जोड्ने पहलमान सिं स्वार राजमार्गको बिच भागमा दुवै जिल्लाको सिमा क्षेत्रमा रहेको चौखुट्टे बजार र आसपासको बस्तीमा खानेपानी पुग्दा निकै खुशी रहेको स्थानीयबासिन्दा एवं खानेपानी योजना निर्माण समितिका अध्यक्ष टेक बहादुर बोगटीले बताए ।

गत आर्थिक वर्ष २०७६/०७७ को असारमा खानेपानी योजना निर्माण गरिसकिएको तर विश्वव्यापी कोरोना महामारीका कारण औपचारिक उद्घाटन भने नगरिएको उनले बताए ।
प्रत्येक धाराहरुमा मिटर जडान गरिएको र प्रति युनिट १० रुपैंयाका दरले सबै घरपरिवारबाट महशुल पनि संकलन गर्ने गरिएको छ । त्यस्तै खानेपानीको उचित रेखदेखका लागि एक जना हेराला राखिएको र जसका लागि प्रत्येक परिवारबाट मासिक ५० रुपैंया उठाएर हेरालाको खर्च व्यवस्थापन गर्ने गरिएको स्थानीयले खानेपानी उपभोक्ताहरुले बताएका छन् ।
पानीको बहाब प्रति मिनेट १० लिटर जति रहेकाले घरघरमा पानी पुर्याएर पनि ट्यांकीबाट ओभर फ्लो भएर समेत प्रशस्तै बगिरहेको देखिन्छ । जसलाई करेसाबारी सिंचाई लगाएत अन्य प्रयोजनमा सदुपयोग गर्न सके थप प्रभावकारी हुने देखिन्छ ।
