बाल सुधार गृहमा पुस्तक हस्तान्तरण

956

असोज १९, डोटी ।

उच्च सरकारी वकिल कार्यालय राजपुर डोटीले डोटीको सिलगढीमा रहेको बाल सुधार गृहलाई सोमबार पुस्तक हस्तान्तरण गरेको छ ।

महान्यायाधिवक्ताको कार्यालयबाट पठाईएका २ सय १५ पुस्तकहरु उच्च सरकारी वकिल कार्यालय राजपुरका प्रमूख सह–न्यायाधिवक्ता टेक बहादुर थापा, डोटीका प्रमूख जिल्ला अधिकारी भीमप्रसाद भट्टराई, प्रहरी नायव उपरिक्षक इन्द्र बहादुर मल्लले बाल सुधार गृहका कार्यालय प्रमूख सानुमाया लिम्बुलाई हस्तान्तरण गरेका हुन् ।

पुस्तकहरु कानुन, साहित्य, सामान्य ज्ञान, कक्षा ९ र १० का, शब्दकोष, एट्लस लगाएतका रहेको जिल्ला सरकारी वकिल कार्यालय डोटीका प्रमूख पूर्ण के.सी.ले जानकारी दिए ।

कार्यक्रमलाई संवोधन गर्दै डोटीका प्रमूख जिल्ला अधिकारी भट्टराईले सुधार गृहमा पुस्तक हस्तान्तरण गर्नु पवित्र काम भएको भन्दै पुस्तकहरुको सहि सदुपयोग हुनुपर्नेमा जोड दिए । पुस्तकबाट ज्ञान पाईने र बाल सुधार गृहमा रहेका बालकहरुलाई पढ्ने वातावरण बनाई ज्ञान बटुलेर सुधार गृहबाट बाहिरींदा असल मान्छे बन्छु भन्ने अटोठकासाथ बाहिरीने वातावरण बनाउनुपर्ने धारणा राखे । साथै महान्यायाधिवक्ताको कार्यालयबाट पुस्तक हस्तान्तरण कार्य भएकाले अन्य सहयोगी निकायका लागि पनि प्रेरणाको श्रोत भएको उनले बताए ।

त्यस्तै उच्च सरकारी वकिल कार्यालय राजपुर डोटीका प्रमूख सह–न्यायाधिवक्ता थापाले बाल सुधार गृहमा रहेका बालकहरुको मनोविज्ञान बुझेर व्यवहार गर्नुपर्ने काम चुनौतिपूर्ण भएको भन्दै प्रदान गरिएका पुस्तकलाई व्यवस्थित तवरले सदुपयोग हुने वातावरणका लागि सुधार गृह परिवारमा आग्रह गरे ।

पुस्तकहरु बुझ्दै प्राप्त पुस्तकहरु सक्दो सदुपयोगमा ल्याउने बाल सुधार गृह प्रमूख सानुमाया लिम्बुले प्रतिवद्धता व्यक्त गरिन् ।

सुदूरपश्चिममै एउटा मात्र डोटीमा रहेको बाल सुधार गृह २०७५ सालमा स्थापना भएको थियो ।

हाल उक्त बाल सुधार गृहमा विभिन्न कसुरमा संलग्न सुदूरपश्चिमका ९ जिल्ला र दाङ जिल्लाका समेत गरी १० जिल्लाका १८ वर्ष मुनिका ४६ जना बालकहरु छन् । तिमध्ये १८ जनालाई सजाय तोकिसकिएको र बाँकी २८ जना बालकहरु पुर्पक्षका लागि राखिएका छन् ।

यसका साथै २१ जना बालकहरुलाई विश्वव्यापी फैलिएको कोरोना महामारीका कारण अभिभावकको जिम्मा लगाई घरमा पठाईएको र ति बालकहरुमध्येका सजाय भुक्तान पूरा गरेका र सफाई पाईसकेका केहि बालक सुधार गृहमा फर्कनु नपर्ने अवस्थाका र केहिले फर्कनुपर्ने सुधार गृह प्रमूख लिम्बुले जानकारी दिइन् ।

यस पूर्व उक्त सुधार गृहमा रहेका विभिन्न जिल्लाका ३४ जना बालकहरुले सजाय भुक्तान गरी र सफाई पाएपछि घर फिर्ता भैसकेका छन् ।

Leave A Reply

Your email address will not be published.