के हो पुँजीवाद, समाजवाद र साम्यवादी व्यवस्था ?

914

– मिन बहादुर रोकाया
राजनीतिक क्षेत्रमा सबै भन्दा बढी प्रयोगमा आएका दार्शनिक शब्दहरु मध्ये बहुचर्चित शब्दहरु मानिन्छन् पुँजीवाद, समाजवाद र साम्यवाद । अध्ययनको क्रममा २० औं शताब्दीमा पुँजीवादी दर्शन, समाजवादी दर्शन र साम्यवादी दर्शनका सन्दर्भमा संसारका विभिन्न मुलुकका दार्शनिकहरुले आ–आफ्नो ढंगले व्याख्या गर्दै लागु गर्ने गरेको पाइन्छ । कुनै पनि मुलुकको सामाजिक, आर्थिक र राजनीतिक विचार धारामा आधारित आँखिर यी दर्शनहरुको प्रयोग, अर्थ र परिचय के होला त ? भन्ने सन्दर्भमा कोही पाठकहरुको मानसपटलमा खुल्दुली रहेको हुनसक्छ । सूचना, सञ्चार र प्रविधिको युगले आज विश्वलाई साँघुरो बनाइदिएको भएता पनि अझैं कतिपय गहन विषयवस्तुहरुमा मानवीय अध्ययन अपुग जस्तै प्राय : देखिन्छ । Google, Facebook, twitter,  Whatsapp, Instagram, viber, Messenger आदिको माध्यमबाट थोर बहुत रुपमा मात्रै वा केही अंशका रुपमा अध्ययन गर्ने बानी बसिसकेका हामी जो कोहीका लागि विस्तृत अध्ययन गर्नै पर्ने केही विषय शीर्षकहरुमध्ये यसलाई पनि अलि महत्वकै ठानी पाठकसामु पस्किने प्रयत्न गरिएको छ । यो विषयको प्रस्तुती वैचारिक विश्लेषण सहितको भएकाले पाठक वर्गहरुमध्ये कोहीका लागि केही बन्न सक्छ भन्ने अपेक्षा गरिएको छ ।

पुँजीवादी व्यवस्था
पुँजीवादी व्यवस्थाले नाफा केन्द्रित क्रियाकलापहरुलाई बढी महत्व दिने गर्दछ । सामान्यतया पुँजीवादी दर्शनले स्वतन्त्र रुपमा जति सक्यो बढीभन्दा बढी आर्जन गर्ने र नाफामा रहने भन्ने कुरालाई प्राथमिकता दिने गरि व्याख्या गर्ने गर्दछ । मानवीय जीवनमा भोलि के खाने भन्ने सोचको विकाससंगै पुँजीवादी व्यवस्थाको विकास भएको देखिन्छ । यस दर्शनको मुख्य आशयमा उल्लेख गरिएको छ कि – कुनै पनि आर्थिक व्यवस्थाले उत्पादन गर्छ । यो सरकारको अधिनमा हुँदैन, व्यक्तिको हातमा हुन्छ । यसमा मालिक हुन्छ, अनि त्यो मालिकले कसरी व्यापार गर्ने भन्ने उसलाई छुट रहेको हुन्छ । मुलुकको राजनीतिक, सामाजिक र आर्थिक प्रणाली उत्पादन र बजार प्रणालीको माध्यम निजी स्वामित्वमा आधारित हुन्छ । यो नाफा केन्द्रित भएर चल्ने गर्दछ । बजारलाई प्रतिष्पर्धामा छोडिएको हुन्छ । बस्तु किन्न र बिक्रि गर्न स्वतन्त्रता रहन्छ । कुनै पनि आर्थिक गतिविधिहरुलाई नाफामा केन्द्रित रहेर अघि बढ्न प्रेरित गर्ने यो दर्शनको प्रयोग संसारको इतिहासमा सबैभन्दा बढी भएको देखिन्छ । पुँजीवादी दर्शनलाई प्रयोग गर्दै पुँजीवादी व्यवस्था अङ्गिकार गर्ने मुलुकहरुमा मजदुरहरु धेरै हुन्छन् भने मालिकहरु ज्यादै कम हुन्छन् । पुँजीवादी व्यवस्था लागु भएका मुलुकहरुमा मालिकहरु मोटाउने क्रम दिन प्रतिदिन चलिरहन्छ । मजदुरहरुले मालिकहरुको अधीनमा न्युन स्तरको जीवन बाँचीरहनु पर्दछ । कुनै कम्पनिमा काम गर्ने १०० जना मजदुरहरुले २० लाख कमाइ गरेछन् भने १६ लाख कम्पनिको मालिकको हातमा पर्दछ भने ४ लाख जति मात्रै मजदुरहरुको हातमा ज्याला स्वरुप प्राप्त हुने गर्दछ । हामी धेरै थोरैले सुन्ने गरेका नामहरुमध्ये जेफ बेजोस, मार्क जुकर वर्ग, वारेन बफेट, बिल गेट्स, टाटा, बिराला, मुकेश अम्बानी, नेपालको चौधरी गु्रप आदि यी सबै पुँजीवादी व्यवस्थाले जन्माएका मालिकहरु हुन् । विश्वका प्रजातान्त्रिक एवं लोकतान्त्रिक मुलुकहरुको शासकीय व्यवस्थालाई समर्थन गर्ने पुँजीवादी दर्शनले कुनै पनि व्यक्तिले समाजमा बसेर आयआर्जन गर्छ भन्ने मान्यता राख्दछ । यदि उसले आफू बसेको ठाउँबाट आयआर्जनका कुनै पनि गतिविधिहरुमा सहभागी हुँदैन भने त्यहाँ बसिरहनुको कुनै अर्थ हुदैन । बरु त्यसको साटो उसले जंगलमा गएर बसे हुन्छ भन्ने आशय व्यक्त गर्दछ । आर्जन नै नगर्ने मानिसलाई बेकामे ठान्ने गरिन्छ ।

समाजवादी व्यवस्था
समाजवादी व्यवस्था पुँजीवादी व्यवस्था भन्दा ज्यादै विकसित मानिन्छ । पछिल्लो समयमा विश्वका केही नयाँ मुलुकका रुपमा देखा परेका केही राष्ट्रहरुले थोरै अंशका रुपमा भएपनि अंगिकार गर्ने गरेको व्यवस्था समाजवादी व्यवस्था हो । विशेष गरी जनकल्याणको नीतिका साथ विकसित यस व्यवस्थाले सबैको बराबर अवसरका खाँतिर वकालत गर्ने गरेको पाइन्छ । १९ औं शताब्दितिर चर्चाको शिखरमा रहेको यो व्यवस्थाका अनुसार श्रमिकहरुको श्रमको प्रतिफलमा सबैको समान अंश लाग्ने र श्रमजीवि जनताहरु कहिल्यै मर्कामा नपर्ने कुरा उल्लेख गरिएको छ । पुँजीवादमा १०० जना मजदुरहरुले एउटा कुनै कम्पनिमा २० लाख कमाइ गरेछन् भने १६ लाख कम्पनिको मालिकको हातमा पर्दछ र ४ लाख रुपैंयाँ मात्रै मजदुरहरुले ज्यालाका रुपमा पाउँने गर्दछन् । तर समाजवादी व्यवस्थामा भने १०० जना मजदुरहरुकै हातमा त्यो २० लाख रुपैंयाँ बराबर भाग पर्दछ । समाजवादी व्यवस्थाले अपनाउने यस्तो नीतिलाई जनकल्याण नीति भनिन्छ । यही जनकल्याण नीतिका कारण समाजवादी व्यवस्था एक चर्चित व्यवस्थाका रुपमा रहेको छ ।

साम्यवादी व्यवस्था
साम्यवादी व्यवस्थालाई पुँजीवादी र समाजवादी व्यवस्था भन्दा पृथक शैलीको व्यवस्थाको रुपमा लिने गरिन्छ । मुलत ः साम्यवादी व्यवस्थाले सर्वहारावादी विचारधाराको पूर्ण व्यवस्थामा जोड दिने गर्दछ । यो व्यवस्था पनि अन्य जस्तै सामाजिक, आर्थिक संरचना एवं राजनीतिक विचारधारा हो । यस व्यवस्थाले वर्गविहीन समाजको परिकल्पना साकार पार्ने प्रयत्नतर्फ प्रेरित गर्दछ । कुनै पनि सम्पत्तिमा कसैको पनि व्यक्रिगत स्वामित्व हुनुहुन्न । तर उसले आफ्नो आवश्यकता अनुसार भोगचलन गर्न पाउनुपर्दछ भन्ने आशय बोकेको यस व्यवस्थाले सबै कुरा जनताको हो र सबै थोक जनता हो भन्ने कुरालाई जोड दिन्छ । साम्यवादी दर्शनानुसार यदि व्यवस्था विकसित गर्न सम्भव भएछ भने त्यस मुलुकमा मालिक कोही हुँदैनन् । जनता नै सबै हुन्छन् । यति मात्रै नभइ त्यहाँ कुनै पनि किसिमको वर्गिय विभेद हुँदैन र कुनै पनि किसिमको भेदभाव हुनु पनि हुँदैन । कोही ठूलो र सानो भन्ने नै हुँदैनन् । कम्युनिष्ट सिद्धान्त दर्शन भनेको नै यही साम्यवादी व्यवस्था हो । विश्वका विभिन्न मुलुकहरुमा विगत लामो समयदेखि विभिन्न तरिकाले साम्यवादी व्यवस्थाको व्याख्या र विश्लेषण गर्ने गरेको पाइन्छ ।

तुलनात्मक व्याख्या एवं विश्लेषण
विश्वको राजनीतिक इतिहासमा पुँजीवाद, समाजवाद र साम्यवाद मध्ये कसको प्रयोग कति कहाँ सफल र प्रभावकारी भएको छ भन्ने कुरा थाहा पाइराख्नुले ज्यादै महत्व राख्दछ । विगतको राजनीतिक अवस्थाले वर्तमान र भविष्यका लागि मार्ग प्रशस्त गर्ने भएकाले पनि यसको अध्ययन आवश्यक ठानिन्छ ।
२० औं शताब्दीतीर निकै चर्चामा रहेको साम्यवादी सिद्धान्त कार्लमाक्र्सको एक वैचारिक सिद्धान्त हो । कार्लमाक्र्सले त्यसबेला विश्वका ५० वटाभन्दा ज्यादा अफ्रिकी मुलुकहरुको प्रत्यक्ष भ्रमण गरी त्यसबाट अनुभवहरु संगालेर राजनीतिक र दार्शनिक विचारको प्रतिपादन गरेका थिए । राजनीतिक इतिहासका पानाहरु पल्टाएर अध्ययन गर्दा ४० देखि ५० को दशकमा संसारभरीका अधिकांश मुलुकहरुले साम्यवादी सिद्धान्तको प्रयोग गरेको पाइन्छ । रुस, क्युवा, चीन, भियतनाम, उत्तरकोरिया, भेनेजुयला, कम्बोडीया आदि देशहरुमा साम्यवादी व्यवस्था केही समयकै लागि भए पनि स्थापित भएरै छोड्यो तर आर्थिक रुपमा चीन बाहेक अन्य कुनै पनि देशहरु सम्पन्न हुन भने सकेनन् ।
पुँजीवादी व्यवस्थाहरु मध्ये अमेरिकी पुँजीवादी व्यवस्था संसारमा सबैभन्दा बढी प्रयोगमा रहेको पाइन्छ । पुँजी, उद्योगधन्दा र कलकारखानाहरुलाई अगाडी बढाउँदै समाजको आर्थिक अवस्था मजबुद बनाउदै लग्नुपर्दछ भन्दै अघि सरेको अमेरिकाले आर्थिक उन्नति र सैनिक व्यवस्थापनको क्षेत्रमा थोरै समयमा निकै शक्तिशाली बन्न सफल भएको छ । यति मात्रै नभएर यो देशमा सबै जनताको सबै कुराहरुको बिमाको व्यवस्था गरिएको छ । देशमा रहेका बेरोजगारहरुलाई बेरोजगार भत्ताको व्यवस्था गरिएको छ । रोगीहरुलाई निःशुल्क औषधी उपचारको व्यवस्था गरिएको छ । थोरै समयमा विश्वको सामु सभ्य र विकसित देश बन्न पुगेको छ ।
पुँजीवादी शासन व्यवस्थापछि विश्वको राजनीतिक इतिहासमा बहुचर्चित शासनव्यवस्था हो समाजवादी र साम्यवादी शासन व्यवस्था । साम्यवाद समाजवादको अंश हो भन्ने भनाइ छ । साम्यवाद समाजवादको एउटा सोच हो । भनिन्छ हरेक समाजवादी साम्यवादी हुन सक्छन् तर हरेक साम्यवादी समाजवादी हुन सक्दैनन् । विश्वका विभिन्न मुलुकहरुमा जहाँ जे जति कम्युनिष्ट विचारधाराहरु छन् ती सबै माक्र्सवाद र लेलिनवाद अन्तर्गत नै रहेका पाइन्छन् । चीनको विकसित विचारधारा भने माओवादपछि मात्रै नयाँ रुपमा देखा परेको हो कि भन्ने आभाष हुन्छ । यहाँको विचारधारा सामान्यतया पुँजीवाद र समाजवादको केही अंशका रुपमा देख्न सकिन्छ । भन्ने गरिन्छ माक्र्सवाद, लेलिनवाद कम्पनी र कारखानाहरुसँग बढी सम्बन्धित थियो भने माओवाद किसान र उत्पादनयोग्य कार्यसंग थियो । त्यतिबेला चीनमा उद्योगधन्दा कलकारखानाहरु त्यति थिएनन् । चीनको क्रान्ती नै जति गरे त्यो सबै किसानहरुले मात्रै गरेका थिए । माओले साम्यवादी व्यवस्था शुरु गरे । यसको केही समय लगतै १९६६ मा माओको देहवसान भयो । तत्पश्चात देङ ज्याओले पुँजीवादी र समाजवादी विचारधारालाई अँगाल्दै देशमा उद्योगधन्दा, कलकारखानाहरुको स्थापना गरे । देशभर उत्पादन बढाउने र व्यवसायका कार्यहरुमा लगानी गर्ने क्रम अघि सर्यो । त्यसैको फलस्वरुप आज चीन संसारकै समृद्व मुलुक बन्दै गइरहेको छ । कम्युनिष्ट सिद्धान्त भनेको विज्ञान हो । यसको नजरमा राज्यका स्रोतसाधनहरु जहाँ जे जति छन् सबै समान हुन्छन् । यसका लागि वैज्ञानिक विचार र व्यवहारिक संसारलाई बलियो बनाउँदै लैजाने दृढ इच्छाशक्तिको निकै खाँचो छ ।

सारांश
राजनीतिक दर्शन, सिद्धान्त एवं नीतिहरुलाई राम्ररी बुझेर त्यसको अंगिकार गर्ने विश्वका विभिन्न मुलुकहरुले आफूलाई निकै अगाडी बढाइ सकेका छन् । देशको आर्थिक, भौतिक, सामाजिक तथा सांस्कृतिक क्षेत्रहरुमा मात्रै नभएर ज्ञानविज्ञान, व्यापार, व्यवसाय र प्रविधिको क्षेत्रमा समेत पर्याप्त प्रगति गरेर देखाइ सकेका छन् । हाम्रो देश नेपालमा भने अझैं राजनीतिक अभ्यासहरु परिक्षणकै रुपमा चलिरहेका छन् । यहाँको राजनीतिक धरातलमा यो या त्यो गर्दै समय घर्किरहेको छ । त्यति परिपक्व ढंगबाट अघि बढ्न सकिरहेको छैन् । साम्यवादी सिद्धान्तानुरुप नेपाललाई अघि बढाउने अभ्यासको थालनी त खै के खै के भन्दा फरक पर्छ जस्तो लाग्दैन । बरु चीनको जस्तै पुँजीवाद र समाजवादको केही अंशलाई अंगिकार गरी विकसित गर्दै अघि बढ्न सके केही हदसम्म राजनीतिक वृत्तमा परिवर्तन देखिने सम्भावना रहन्छ ।
सारांशमा त के सम्म पनि भन्न सकिन्छ भने यहाँको राजनीतिक धरातलमा सिद्धान्तलाई राम्ररी बुझेर राजनीति गरिरहेकाहरु भन्दा क्षेत्रीको रिसले बाहुनलाई तह लगाउने मनशायले, कोही बाहुन÷क्षेत्रीलाई तह लगाउन अर्कोे पार्टीमा प्रवेश गर्ने, कोही नाता पर्नेको पार्टीमा प्रवेश चाहाने त कोही भागबण्डामा रमाउनेका साथसाथै कोही साथी भाइको नजरमा असल बन्न र अवसर खोज्न लम्किने त कोही अनावश्यक सडकमा होहल्ला गर्ने र रमाइलो गर्ने पाराले मेरो पार्टी यो हो भन्ने र पछि लाग्ने गरेका राजनीतिकर्मीहरु बढी देखिन्छन् । सामान्यतया नेपालको राजनीतिक क्षेत्रमा राजनीतिक चिन्तनका हिसाबले राजनीतिकर्मीहरु पार्टीको पछि लाग्ने गरेको देखिदैन । विशेष रुचिका कारणले मात्रै पार्टीको पछि लाग्ने गरेको देखिन्छ । यस्तो खालको प्रवृत्तिको कारण नेपालको राजनीतिक धरातलमा राजनीतिक चिन्तन एवं सिद्धान्तको विकास हुने नभइ अवसरवाद हावी हुँदै जाने प्राय: प्रष्ट नै देखिन्छ । अवसरको राजनीति गर्नेहरुले आफू र आफ्नो मुलुकको पहिचान गुमाउने सम्भावना पनि बढी रहेको छ ।
(लेखक श्री घण्टेश्वर माध्यमिक विद्यालय, जोरायल डोटीका शिक्षक तथा नजर अनलाईनका नियमित स्तम्भकार पनि हुन् ।)

Leave A Reply

Your email address will not be published.