स्वर्गीय पत्रकार खड्काको विधिवत रुपमा अन्त्यष्टी गरियो

622

झलक पाली
कार्तिक २९, डोटी ।

सुदूरपश्चिमका चर्चित पत्रकार स्वर्गिय तेज बहादुर खड्का (तेजु खड्का) को शनिबार विधिवत रुपमा अन्त्यष्टि गरिएको छ ।
रेडियो नेपाल दिपायलमा लामो समय काम गर्दै श्रोतामाझ निकै लोकप्रिय पत्रकार खड्का वि.सं. २०७५ साल भाद्र ९ गते बाजुराको प्रसिद्ध धार्मिक तथा पर्यटकीय क्षेत्र बुढीनन्दा मेलाबाट फर्कने क्रममा वेपत्ता भएका थिए ।
पत्रकार खड्का वेपत्ता भएको शुरुवातमा राज्यका विभिन्न संयन्त्र प्रयोग गरी उनको खोजी कार्य भएता पनि पत्ता लाग्न सकेको थिएन । वेपत्ता भएको २ वर्षपछि उनको २०७६ मंसिर २ गतेका दिन जडिबुटी संकलन गर्न गएका बाजुराका स्थानीयले ज्याकेट, झोला, पर्स, परिचय पत्र, मोबाइल, कंकाल (करङ्का दुइ वटा हड्डी) फेला पारेका थिए ।
भेटिएको करङ्गको हड्डीको केहि महिना अघि नेपाल प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशालामा उनकी आमा मन्धरीदेवी खड्काको रगतसँग डिएनए परीक्षण गर्दा सो अवशेष पत्रकार खड्काकै भएको पुष्टि भएको थियो। त्यसपछि वि.सं. २०७७ असार १६ गते सरकारले पत्रकार खड्काको मृत्यु भएको घोषणा गरेको थियो ।
पछिल्लो समयमा बाजुराकै स्थानीय रेडियोमा कार्यरत पत्रकार खड्का बुढीनन्दा मेलाको रिपोटिङ पश्चात् फर्कने क्रममा बर माग्ने भन्ने ठाउँबाट वेपत्ता भएका थिए । खड्काको १५ महिनापछि सो स्थानबाट करिब १७ माइल टाढा लौरी विनायक भीरमा कंकाल भेटिएको थियो। उक्त कंकाल र अन्य सामाग्रीहरु सहित जिल्ला प्रहरी कार्यालय बाजुरालाई बुझाईएको र तत्पश्चात डोटीबाट गएको पत्रकारहरुको टोलीले गत वर्ष मंसिरमा डोटी ल्याएको थियो ।
नेपाल प्रेस युनियन डोटीका संस्थापक अध्यक्ष समेत रहेका खड्काको कंकाललाई आज शनिबार उनका दाजु कृष्ण खड्का र छोरा सुमन खड्काले सेती नदि किनारमा दागबत्ती दिएका हुन् ।

फोटो : चक्र कुँवर

दिपायल सिलगढी नगरपालिका वडा नं. १ का स्वर्गीय खड्काको काजक्रिया पनि दाजु कृष्ण खड्काले नै गर्ने जनाईएको छ ।
खड्काको अन्त्यष्टी कार्यक्रममा नेपाली काँग्रेसका डोटी जिल्ला नेता जित बहादुर खड्का, क्षेत्रीय सभापती विजय खड्का, नेपाल प्रेस युनियन डोटीका पदाधीकारीहरु समेतको सहभागिता रहेको थियो ।

 

Leave A Reply

Your email address will not be published.