मध्यावधी निर्वाचनका लागि डोटीमा मतदाता नामावली अद्यावधिक गरिंदै

303

माघ १४, डोटी ।

सरकारले आगामी बैैशाख १७ र २७ गते गरी दुइ चरणमा तोकिएको प्रतिनिधी सभाको मध्यावधी निर्वाचनका लागि डोटीमा मतदाता नामावली अद्यावधिक गर्न लागिएको छ ।
बुधबार जिल्ला प्रशासन कार्यालय डोटीमा आयोजित सरोकारवालासँगको छलफल कार्यक्रममा दिइएको जानकारी अनुसार यहि माघ १५ गतेदेखि २१ गतेसम्म मतदाता नामावलीमा दावि विरोधको समय तोकिएको छ । जसका लागि जिल्लाका ९ वटै स्थानीय तहमा एक एक जना सहायक नाम दर्ता अधिकारीको व्यवस्था गरिएको जिल्ला निर्वाचन कार्यालय डोटीका जिल्ला निर्वाचन अधिकारी दलबहादुर मलासीले जानकारी दिए । साथै गत पौष ५ गते संसद विघटन भई सोहि दिन मध्यावधी निर्वाचनको मिति घोषणा भैसकेको हुँदा त्यसै दिनदेखि मतदाता नामावलीमा नाम दर्ताको काम बन्द गरिएको उनले जानकारी दिए ।
मतदाता नामावली अध्यावधिक गर्ने कार्यक्रममा मतदाता नामावलीमा समावेश भएको आफ्नो विवरणमा त्रुटी सच्याउन निवेदन दिने, मृत्यु भएका वा दोहोरो नाम रहेका मतदाताको नाम हटाउने र झुट्टा विवरण दिई कोहि कसैले मतदाता नामावलीमा नाम समावेश गरेको भए सोको विषयमा उजुरी दिन सकिने जनाईएको छ ।
गत पौष ५ गतेसम्ममा डोटीमा १८ वर्ष माथिको मतदाता संख्या १ लाख १७ हजार ६ सय १७ जना रहेको छ । जसमा ६२ हजार ३ सय ४१ जना महिला र ५५ हजार २ सय ७६ जना पुरुष रहेको तथ्यांक छ ।
छलफल कार्यक्रमको समापनमा बोल्दै डोटीका प्रमूख जिल्ला अधिकारी भीमप्रसाद भट्टराईले गत पौष २८, माघ ९ र १४ गतेको बैठक गरी तीन चरण बैठक बस्दै मध्यावधी निर्वाचनका लागि जिल्ला तहमा पनि काम शुरु भईसकेको जानकारी दिए ।
कायृक्रममा डोटीका क्रियाशील राजनीतिक दल, जनप्रतिनिधी, सुरक्षा निकाय, सरकारी कार्यालयका प्रतिनिधी, पत्रकार लगाएतको सहभागिता रहेको थियो ।

Leave A Reply

Your email address will not be published.