सिड नेपालद्वारा विपन्न परिवारलाई कम्बल र सुनौलो हजार दिनका आमालाई हात धुने सामाग्री वितरण

485

माघ २२, डोटी ।
समान पहुँच विकास केन्द्र (सिड) नेपाल डोटीले जिल्लाका विभिन्न विपन्न परिवारलाई कम्बल र सुनौलो हजार दिनका आमालाई हात धुने सामाग्रीहरु वितरण गरेको छ ।
दिपायल सिलगढी नगरपालिका ९ मछुन्तोलाका ९८ र आदर्श गाउँपालिका ७ का १ सय २ जना गरि विपन्न दर्ता भएका २ सय बालबालिकाको परिवारलाई १/१ थान कम्बल वितरण गरिएको छ ।
वर्ल्ड भिजन इन्टरनेशनल नेपाल र सिड नेपालद्वारा संयुक्त सञ्चालित एकीकृत संरक्षण तथा समुदाय आवद्ध परियोजना अन्तरगत चिसो मौसममा न्यानो कम्बल वितरण गरिएको वर्ल्ड भिजन इन्टरनेशनल नेपालका बाल प्रायोजन फिल्ड संयोजक गांगी बलायरले बताए ।
त्यस्तै सुनौलो हजार दिनका २ सय ४ जना आमाहरूलाई हात धुने सामाग्री पनि वितरण गरिएको बलाएरले जानकारी दिए । सायल गाउँपालिका १ छपालीका ९७ जना र आदर्श गाउँपालिका ५ लामिखालका १ सय ७ जना गरि २ सय ४ जना सुनौलो हजार दिनका आमाहरूलाई हात धुने सामाग्री पनि वितरण गरिएको हो । जसमा १ सय लिटरको ड्रम र आधा कट्टा सिमेन्ट सहयोग गरिएको जनाएको छ । जसले हात धुने स्थान निर्माण गरी व्यक्तिगत र परिवारका सदस्यहरुको हात धुने र सरसफाइ गर्ने बानीमा सुधार हुने अपेक्षा गरिएको छ ।
निकट भविष्यमै सिड नेपालको कार्य क्षेत्रभित्रका ४ हजार बालबालिकालाई ट्रयाकसुट र पढाई सामाग्री समेत वितरण गरिने सँस्थाले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.