डोटीको आदर्शमा ट्याक्टर दुर्घटना, एक जना गम्भीर घाइते
चैत्र १५, डोटी ।
डोटीको आदर्श गाउँपालिका वडा नं. १ मा आइतबार ट्याक्टर दुर्घटना हुँदा १ जना गम्भीर घाइते भएका छन् ।
दोबाज–भुवाँकोट सडकको नुनेढुङ्गा नजिकै सु.प.प्र.०१००२ त ३९९९ को ट्याक्टर दुर्घटना भएको हो । दुर्घटनामा परि आदर्श गाउँपालिका वडा नं. ५ बस्ने अन्दाजी २५ वर्षका ट्याक्टर चालक रमेश धामी गम्भीर घाइते भएको इलाका प्रहरी कार्यालय आदर्शका इञ्चार्ज प्रहरी इन्स्पेक्टर कृण चन्दले जानकारी दिए ।
घाइतेको प्राथमिक उपचार पछि दिपायलमा रहेको शैलेश्वरी अस्पतालमा रिफर गरिएको र उनको टाउकोमा चोट लागेको आदर्श गाउँपालिका स्वास्थ्य शाखा प्रमूख बम बहादुर खड्काले जानकारी दिए ।
घटना दिउँसो करिब साढे ३ बजेतिर भएको र ट्याक्टर सडकदेखि अन्दाजी ५ सय मिटर तल खसेको पनि उनले बताए । स्थानीय बासिन्दा समेत रहेका शाखा प्रमूख खड्काले घटनाबारे जानकारी पाएपछि स्वयं आफुले पनि उद्दार गरेको रे प्रहरीलाई समेत आफुले खबर गरेर घटनास्थलमा बोलाएको उनले बताए ।
इप्रका आदर्शका अनुसार ट्याक्टरमा सवार वर्ष २२ का प्रेम बहादुर सिंह सामान्य घाइते भएको र उनलाई पनि दिपायलमै पठाईएको जनाईएको छ ।
ट्याक्टर आदर्श गाउँपालिका वडा नं. ५ लामिखालका भीम बहादुर खत्रीको रहेको जनाईएको छ ।