डोटीमा कोरोनाबाट रेडियो नेपाल दिपायलमा कार्यरत इन्जिनियरको मृत्यु
बैशाख २४, डोटी ।
डोटीमा कोरोना भाईरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ ।
रेडियो नेपाल सुदूरपश्चिम प्रादेशिक प्रसारण केन्द्र दिपायलमा कार्यरत ३२ वर्षिय पुरुष इन्जिनियरको मृत्यु भएको रेडियो नेपालमा कार्यरत पत्रकार नवराज जोशीले जानकारी दिए ।
कञ्चनरुप नगरपालिका ८ सप्तरी घर भएका उनि यसै बैशाख महिनाको १२ गते रेडियो नेपाल सिंह दरबार काठमाण्डौबाट दिपायल सरुवा भएर आएका थिए । दिपायल आए यता होम आइसुलेशनमै रहेका उनी बिचैमा बिरामी भएपछि बैशाख २२ गते जिल्ला अस्पताल डोटीमा भर्ना भएका थिए ।
अक्सिजन दिएर उपचार गराईरहेका उनलाई भेन्टिलेटरको आवश्यकता परेपछि जिल्ला अस्पतालले रिफर गरिएको थियो ।
रिफर भएपश्चात जिल्ला बाहिर लैजाने क्रममा शुक्रबार बिहान उनको बाटोमा एम्बुलेन्सभित्रै निधन भएको हो । डोटीभित्रै कोरोना संक्रमणबाट मृत्यु हुनेमा उनि दोश्रो व्यक्ति हुन् ।
मृतकको शव व्यवस्थापनका लागि नेपाली सेनाको सिलगढी स्थित रुद्रध्वज गणसँग समन्वय भईरहेको जिल्ला अस्पताल डोटीका अध्यक्ष यज्ञराज जोशीले जानकारी दिए ।
यो सँगै डोटीमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या दुई पुगेको छ । यस अघि बुधबार जिल्लाको आदर्श गाउँपालिका–२ का ६२ वर्षीय पुरुषको जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो ।