डाेटीमा जनप्रतिनिधिले नै गरे पत्रकार माथी दुर्व्यवहार, दाेषिलाई कार्वाहीकाे माग
असार ९, डाेटी ।
डाेटीकाे पुर्विचाैकी गाउँपालिकामा रिपाेर्टिङ्ग र प्रशासनिक कार्यका लागि पुगेका पत्रकारहरु माथी जनप्रतिनिधिहरुले हातपात सहित दुर्व्यवहार गरेका छन् ।
नजर नेपाली साप्ताहिक डोटीका सम्पादक झलक पाली, नेपाल टेलिभिजन डाेटी संवाददाता सुवास नेपाली र त्रिवेणी एफएममा कार्यरत पत्रकार प्रेम नेपालीमाथी दुर्व्यवहार भएकाे पिडित पत्रकारहरुले बताएका छन् ।
गाउँपालिकाले आईसाेलेसन वार्ड संचालनमा ल्याएकाे, भिडियाे एक्सरे सेवा सुरु गरेकाे, दलित लक्षित कार्यक्रम अन्तरगत राहत वितरण लगाएत क्रियाकलापहरुका विषयमा रिपाेटिङ्ग गर्न र गाउँपालिकाबाट भुक्तानी गर्न बाकी रहेका विज्ञापन तथा सूचनाहरुकाे रकम भुक्तानी लिन भन्दै पुर्विचाैकी पुगेकाे समयमा बिनाकारण आफुहरु माथी हातपात हुनुका साथै गालिगलाैज र अभद्र व्यवहार भएकाे पत्रकार झलक पालीले बताए ।
घटनाका विषयमा गाउँपालिकाका अध्यक्ष दिर्घराज बोगटीसँग बुझ्दा आफ्नै अगाडि पत्रकारमाथी अभद्र व्यवहार भएकाे बताएका छन् ।
सो गाउँपालिकाको वडा नं. १ का वडा अध्यक्ष अंकबहादुर खड्का, वडा नं. ४ का वडा अध्यक्ष नवराज खड्का, वडा नं. ४ का स्थानीय प्रेमबहादुर खड्का र वडा नं. ५ का शंकरबहादुर कठायतले कार्यालय परिसरमै अभद्र व्यवहार गरेका हुन् ।
गाउँपालिकाका अध्यक्ष बोगटी, उपाध्यक्ष निर्मला साउँद, सानागाउँ प्रहरी चौकीबाट खटिएका प्रहरीहरु लगाएतकै अगाडि आफुहरुमाथी गालीगलौज गर्ने, शरीरमा जाईलाग्ने, क्यामेरा बन्द गर्न लगाउने, मास्क खोल्न लगाउने लगायतका अभद्र व्यवहार भएकाे पत्रकार पालीले बताए ।
घटनाकाे विराेध गर्दै पत्रकार महासंघ डाेटी शाखा, प्रेस चाैतारी नेपाल, प्रेस सेन्टरले प्रेस विज्ञप्ती जारि गर्दै घटनाका दाेषिहरुलाई कानूनी कार्वाहिकाे माग गर्दै पेशागत सुरक्षाकाे प्रत्याभुत गराउन माग गरेका छन् ।