“एमाले बाहेक अरु पार्टी रोज्न सकिदैन”- अर्थराज्य मन्त्री गहतराज

793

प्रेम नेपाली,
भाद्र १८, डोटी ।
सुदुरपश्चिम प्रदेश सरकारका अर्थ राज्यमन्त्री अर्चना गहतराजले आफूले नेकपा (एमाले) बाहेक अरु पार्टी रोज्न नसक्ने बताएकी छन् ।
पार्टी कार्यकर्ता भेटघाटको क्रममा गृह जिल्ला डोटी पुगेका मन्त्री गहतराजले जसले जस्तोसुकै लोभलालच देखाएता पनि आफू नेकपा एमालेमा प्रतिबद्ध भएर लागेको बताइन् ।
नेकपा एमालेबाट समानुपातिक सांसद रहेकी सुदुरपश्चिम प्रदेश सरकारका अर्थ राज्यमन्त्री गहतराजले आफूलाई धेरै नेताहरूले पदको आश्वासन देखाएको तर आफु भने क्षणिक पदको प्रलोभनमा नपर्ने उनको भनाई छ ।
आफु चुनावमा होमिदा पनि नेकपा एमालेको सूर्य चिन्ह लिएर होमिएका कारण अब नेकपा एमाले छोडेर कुनैपनी हालतमा पद र प्रलोभनमा परी नेकपा (एकीकृत समाजवादी) पार्टीमा जान नसक्ने र अरु कोहि पनि एमालेका सच्चा, इमान्दार नेता कार्यकर्ताले पनि त्यसमा लाग्न नहुने उनको धारणा थियो ।
एमाले डोटीको पार्टी कार्यालयमा आयोजित कार्यक्रममा एमाले डोटी जिल्ला इन्चार्ज गौरी ओली, जिल्ला अध्यक्ष चक्र मल्ल लगाएत नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
केपी शर्मा ओली अध्यक्ष रहेको एमालेबाट पार्टी फुटाएर माधवकुमार नेपालले नेकपा (एकीकृत समाजवादी) पार्टी दर्ता गरेपछि यही भाद्र २२ गतेसम्म सनाखतको समय तोकिएको छ ।
माधव नेपालको पार्टीमा अर्थ राज्यमन्त्री गहतराज पनि लाग्ने दावी गरिएकै बेला उनी धनगढी छोडेर डोटी पुगेपश्चात आफ्नो स्पष्ट धारणा सार्वजनिक गरेकी हुन् ।

Leave A Reply

Your email address will not be published.