डोटीमा एक महिलामाथि बलात्कार प्रयास
प्रेम नेपाली
भाद्र २०, डोटी ।
डोटीको आदर्श गाउँपालिका वडा नम्बर ६ गिरिचौकामा अपरिचित व्यक्तिले एक महिलामाथी बलात्कारको प्रयास गरेका छन् ।
आफुलाई आदर्श-६ कै बासिन्दा बताउने उक्त पुरुषले सायल गाउँपालिका वडा नम्बर १ की ४५ वर्षकि एक महिलालाई बलात्कारको प्रयास गरेका हुन् ।
पीडित महिला यही भाद्र १८ गते घरबाट गिरिचौकाको काँडामा आफन्तलाई भेटघाट गर्न गएकी थिईन् ।
त्यहाँ जाने क्रममा साँझ करिब ७:३० बजेको समयमा गिरिचौकाको ढाँटवाडा र काँडा टोलको बीच जङ्गलमा उनलाई एक्कासि अपरिचित पुरुषले आक्रमण सहित बलात्कार प्रयास गरेको पीडितका छोरा नाता पर्ने आफन्तले जानकारी दिए ।
पीडितको भनाइ अनुसार उक्त व्यक्तिको हातमा हँसिया र बञ्चरो रहेको र पहिले त्यसै हतियारले आफुलाई हिर्काएर टाउको, खुट्टा र शरीर भरी नै गम्भीर चोट लागिसकेपछि उक्त पुरुषले बलात्कारको प्रयास गरेको तर आफू रुँदै कराउँदै काँडा टोलको नजिक पुगिसकेपछी त्यो व्यक्तिले आफ्नो पिछा छोडेर भागेको बताईन् ।
यस विषयमा थप कुरा बुझ्न खोज्दा आदर्श गाउँपालिका – ६ का वडा अध्यक्ष लाल बहादुर खडायतले आफुले पनि पीडित पक्षले गरेको फोनको आधारमा जानकारी आएको र बलात्कारको प्रयास गर्ने व्यक्ति को हो भन्ने कुरा खुल्न नसकेकोले पीडित पक्षलाई न्याय दिनको लागी आदर्शको ईलाका प्रहरी कार्यालयलाई जानकारी गराईसकेको र प्रहरी पुगेपछी घटनाको अनुसन्धान प्रक्रिया अगाडी बढ्ने बताए ।
तर पीडित पक्षले भने आफुहरुले आदर्शमा रहेको ईलाका प्रहरी कार्यालय र सायल गाउँपालिका-१, छपालीमा रहेको प्रहरी चौकीलाई न्यायको लागी जानकारी गराईसकेको भए पनि अहिलेसम्म घटना स्थलमा प्रहरी नआएको गुनासो गरिन् ।
यस विषयमा थप जानकारी लिन सायलको छपालीमा रहेको प्रहरी चौकीलाई सम्पर्क गर्न खोज्दा सम्पर्क हुन नसकेको र आदर्शको ईलाका प्रहरी कार्यालयका इन्सपेक्टर किसन चन्दलाई सम्पर्क गर्दा आफ्नो टोलि चौकिबाट हिडि सकेको र घट्ना स्थल सम्म पुग्न अझै केही समय लाग्ने भएकोले सम्बन्धित ठाउँमा पुगिसकेपछि थप जानकारी गराउने बताएका छन् ।
घटना भाद्र १८ को भए पनि ढिलो गरि बाहिर आएको छ ।