डोटीका तीन स्थानीय तहमा ‘सुन्तला जोन क्षेत्र’का रूपमा अगाडि बढाइने
भाद्र २०, डोटी ।
डोटीका तीन वटा स्थानीय तहमा सुन्तला जोन क्षेत्रका रूपमा कार्यक्रम अगाडि बढाइने भएको छ ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना इकाई कार्यालय डडेल्धुरामार्फत डोटीको बडिकेदार, जोरायल र बोगटान फुड्सिल गाउँपालिकामा सुन्तला जोन क्षेत्र कार्यक्रम अगाडि बढाउन लागिएको हो ।
सुन्तला जातका फलफूल उत्पादनका सम्भावित क्षेत्र, क्लष्टर मिलेको, क्षेत्र विस्तार गर्ने प्रचुर सम्भावना भएको, पूराना बगैंचा भएको साथै छिमेकी कैलालीको चुरे गाउँपालिकाको सुन्तला उत्पादन क्षेत्रलाई समेटी आउँदा आर्थिक वर्षदेखि सुन्तला सुपर जोनका रूपमा अगाडि बढाउन सकिने भएकालेे ती स्थानीय तहहरुलाई छनौट गरिएको जनाइएको छ ।
बडिकेदारको वडा नम्बर १, २ र ४ को १ सय ५० हेक्टर, जोरायलको वडा नम्बर ३, ५ र ६ को २ सय हेक्टर र बोगटान फुड्सिलको वडा नम्बर १, २, ३, ४, ५ र ७ को १ सय ५० हेक्टर क्षेत्रफललाई यस आर्थिक वर्षमा सुन जोन क्षेत्र प्रस्ताव गरि कार्यक्रम अगाडि बढाउन लागिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई डडेल्धुराका प्रमूख खेमराज जोशीले बताए ।
डोटीका विभिन्न स्थानीय तहका जनप्रतिनिधि र सरोकारवालाहरु सहित कृषि ज्ञान केन्द्र डोटीको सभाहलमा आयोजित जिल्ला परियोजना कार्यान्वयन समन्वय तथा अनुगमन समितिको बैठक एवं आर्थिक वर्ष २०७८/७९ को वार्षिक कार्यक्रम सार्वजनिकीकरण कार्यक्रममा उक्त जानकारी दिईएको हो ।
त्यसैगरी सोही कार्यक्रमसङ्गै कृषि ज्ञान केन्द्र डोटीले पनि गत आर्थिक वर्षमा सम्पन्न कार्यक्रमको समिक्षा र यस आर्थिक वर्ष २०७८/७९ मा गरिने कार्यक्रम बारे अभिमुखिकरण गोष्ठी पनि सम्पन्न गरेको छ ।
कार्यक्रममा कृषि ज्ञान केन्द्र डोटी प्रमूख नरेन्द्र पनेरुले गत वर्ष सम्पन्न कार्यक्रम र यस वर्ष संचालन गरिने कार्यक्रम बारे जानकारी गराएका थिए ।
कार्यक्रमको समापन गर्दै जिल्ला समन्वय समिति डोटीका प्रमूख राम बहादुर ऐरले किसानका लागि आउने विभिन्न अनुदानका कार्यक्रमबाट वास्तविक किसान लाभान्वित हुन नसकेकोले यसमा सुधार ल्याउनुपर्ने आवश्यकता औंल्याए ।
यद्यपि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले डोटीमा विस्तार गर्न लागेको सुन्तला जोन क्षेत्रमा भने सबै किसानले लाभ लिनेे उनलेे विश्वास व्यक्त गरे ।