तलब खाने मास्टर म !

1,021

– जनक सि.के.
हो साँच्चै कक्षाकोठामा नपढाएरै तलब खाने मास्टर म,
घोक्रो सुकाई-सुकाई ड्यूटी खटाएरै तलब खाने मास्टर म ।
सरकारको कानुनी प्राबधानमा रही नियुक्ति लिई आएको,
विद्यालयमा सरकारले नठटाएरै तलब खाने मास्टर म ।

कोपिलालाई फूलाउन पेशागत नैतिक धर्ममा अडिक छु,
त्यो नजरमा बाल भविष्य घटाएरै तलब खाने मास्टर म ।
विद्यालयमा मैसित हुँदा नि विद्यार्थी अनुशासित नभएका,
देख्ने अभिभावकका नजर पटाएरै तलब खाने मास्टर म ।

साँझ राति बिहान आफ्नो छोरा-छोरी कहाँ छ ? थाहै छैन,
मै दोषी देख्नेको मूल्यांकन हटाएरै तलब खाने मास्टर म ।
कोरोना आएर भीडभाड नगरी सुरक्षित बस्न भनेपछि पो,
हो घरमा बसी-बसी समय कटाएरै तलब खाने मास्टर म ।

कोरोनाले विद्यालय बन्द भै बच्चा बिग्रिए भन्नेका हुलभित्र,
स्व-पेशाप्रति गाैरव र सम्मान चढाएरै तलब खाने मास्टर म ।
डेढ्-डेढ बर्ष पढाइ ठप्प भई स्कुल र मेरो महत्त्व बोध गर्ने,
समुदायलाई ‘गुरु’को स्वाद चटाएरै तलब खाने मास्टर म ।

दाैतरीले बच्चा विदेश पढाई शहरमा ठूलो महल ठड्याउँदा,
हो पैत्रिक झुपडीमा बच्चालाई रटाएरै तलब खाने मास्टर म ।छेवैका सरकारी अफिसमा हुने त्यो भ्रष्टाचार नदेख्ने आँखा,
मेरा यी पाइला ताक्दा इमान अटाएरै तलब खाने मास्टर म ।

शिक्षकले केही गरेन भने भन्नुस् ‘तपाईंलाई कसले पढायो ?’
लकडाउन भरी बिग्रेका बच्चा सुधारेरै तलब खाने मास्टर म ।
विद्यालय र कक्षाकोठाको घेराभित्रै यो जिन्दगी अस्ताउँदैछ,
दुनियाँले देख्ने अकुत सम्पत्ति बढाएरै तलब खाने मास्टर म ।
(लेखक शिक्षण पेशामा आवद्ध हुनुहुन्छ ।)

Leave A Reply

Your email address will not be published.