आज साउने संक्रान्ति, सुदूरपश्चिममा पनि धुमधामसाथ मनाइँदै
साउन १, डोटी ।
आज साउन १ गते अर्थात् साउने संक्रान्ति पर्वका रुपमा मनाइदैछ । सौर्यमान अनुसार सूर्य दक्षिणायनतिर गई कर्कट रेखामाथि पुग्ने भएकाले यसलाई ‘कर्कट संक्रान्ति’ पनि भनिन्छ ।
आजको दिन छोटो र रात लामो हुँदै जाने विश्वास गरिन्छ । मानो छरेर मुरी फलाउने असार महिनाभर गरिएको खेतीपातीका कारण थाकेका किसानहरुले हिलोमैलो पखाली घरपरिवार र आफन्तका साथ रमाइलो गरी यस दिन भोज खाने गर्छन् ।
आजका दिन असारे वर्षा र हिलोबाट आउन सक्ने विभिन्न रोगहरुबाट बच्न लुतो फाल्ने परम्परा पनि छ । छालाजन्य रोग दाद, लुतो, खटिरा आदिबाट बच्न कुकुर डाईनो, काग भलायो, कुरिलो, पानीसरो, पुरेनी, गलेनी, कागती, अम्बा, अनार, नासपाती आदि फलफूलसहित कण्डारक नामक राक्षसको पूजा गरी घरको चारैतिर बलिरहेको अगुल्टो (लुतो) फ्याँक्ने गरिन्छ ।
लुतो फ्याँक्दा नाङ्लो ठटाउने, शङ्ख फुक्ने, घण्ट बजाउने, ढिकी कुट्ने र एकछिन घरको ढोका बन्द गर्ने चलन छ । पछिल्ला समयमा लुतो फ्याँक्ने प्रचलन हराउँदै गए पनि केही धार्मिकस्थलमा सामाजिक रुपमै लुतो फ्याक्ने संस्कृृति मनाउने गरिएको छ ।
हिन्दू धर्मअनुसार सूर्य दक्षिणायन हुँदा देवताको रात र पितृको दिन हुने भएकोले हिन्दूधर्मावलम्बीले साउन महिनादेखि पितृकार्यको थालनी गर्ने प्रचलन पनि छ । त्यसै गरी महिलाहरु आजदेखि साउन महिनाभर सौभाग्यको प्रतीकका रुपमा हरिया पहिरनमा हरियो चुरा, मेहन्दी आदि लगाउनुका साथै भगवान शिवलाई खुसी पार्न सोमबारे व्रत समेत बस्छन् ।
यसैबीच सुदूरपश्चिम प्रदेशमा पनि आज साउने संक्रान्ति पर्व धुमधामका साथ मनाइदैछ । यस क्षेत्रमा आजको दिनमा खेतबारीमा रोग ब्याधी नलागोस् र बालीनालीमा उत्पादन बढोस् भन्दै कुरिलो, मयल, तेलपरे लगायतका हरिया बनस्पतीको हाँगा खेतमा गाड्ने (स्थानीय भाषामा हरेलो हाल्ने) प्रचलन छ ।
यस दिनमा हरेलो (वर्षातमा स्वास्थ्यमा असर) नलाग्ने विश्वासका साथ हरिया सागपातहरु पकाएर खाने गरिन्छ भने पूण्य प्राप्ति हुने विश्वासका साथ स्नान, दान, होम, श्राद्धजस्ता विशेष कार्यको सुरूवात यहि दिन देखि गरिन्छ ।
साउन महिनामा खिर पकाएर खाने तथा पराई घर गएका चेलीबेटीहरुलाई मिठा–मिठा पक्वान पकाएर पठाउने गरिन्छ । यो महिनालाई धार्मिक महिनाका रुपमा मनाउने र महिनाभरी माछा, मासु, लसुन, प्याज खान नहुने सामाजिक परम्परा छ । साउने सङ्क्रान्तिपछि चाडपर्वको लहर समेत शुरु भएको मानिन्छ ।