‘जनताले दुःख नपाओस् भन्ने मेरो पहिलो प्राथमिकता हो’ – प्रजिअ भट्टराई

753

झलक पाली 

भाद्र ११, डोटी ।

जनताले दुःख नपाओस् भन्ने आफ्नो पहिलो प्राथमिकता भएको डोटीका प्रमूख जिल्ला अधिकारी भीमप्रसाद भट्टराईले बताएका छन् ।

गत जेठ ३० गते डोटीमा प्रजिअको जिम्मेवारी सम्हालेका प्रजिअ भट्टराईले विहीबार पहिलो पटक डोटीका पत्रकारहरुसँग आयोजित छलफल कार्यक्रममा यस्तो बताएका हुन् ।

कार्यक्रममा सहभागि अधिकांश पत्रकारहरुले कोरोना भाईरसका साथसाथै अन्य समसामयिक विषयमा प्रमूख जिल्ला अधिकारीको ध्यानाकर्षण गराएका छन् ।

जिल्लाभित्र कोरोना पुष्टी भएका मानिसहरुको दोश्रो पटक जाँच नगरिकनै घर पठाईनुले समुदायमा संक्रमण फैलने खतरा बढेको, कोरोना जाँचको दायरा बढाउनुपर्ने, सार्वजनिक स्थलमा मास्क प्रयोग नगर्नेलाई कारवाही हुन नसकेको, संक्रमित देखिएकाहरुको कन्ट्याक्ट ट्रेसिङ्गमा ढिलाई भएकोले पनि जोखिम बढेको र अक्सर जनसम्पर्कमा रहने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, कर्मचारी, पत्रकारहरुको पिसिआर जाँच गरिनुपर्ने लगाएतका विषयहरु उठान गरेका छन् ।

त्यस्तै जिल्ला प्रशासन र सञ्चारकर्मीबिच सम्पर्क समन्वय बढाउनुपर्ने, सूचना प्रदानमा सहजता ल्याउनुपर्ने, अवैध मदिरा नियन्त्रण गरिनुपर्ने, सवारी भाडामा भईरहेको मनोमानी नियन्त्रण गरिनुपर्ने, सरकारी साधनको दुरुपयोग नियन्त्रण, बजार अनुगमन गरी कालो बजारी र चर्काे मूल्यवृद्धि नियन्त्रण गर्नुपर्ने, नागरिकता वितरण गर्दा छिटोछरीतो र व्यवहारिकतालाई पनि ध्यान दिनुपर्ने लगाएतका विषयमा प्रजिअको ध्यानाकर्षण गरेका छन् ।

कार्यक्रममा बोल्दै जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमूख एवं प्रहरी नायव उपरिक्षक तथा सूचना अधिकारी इन्द्र बहादुर मल्लले पत्रकारहरुलाई सूचना प्रदान गर्नमा सहज बनाईने प्रतिवद्धता जनाए । साथै पत्रकारहरुले पनि आफुलाई प्राप्त सूचना तथा जानकारी प्रहरी प्रशासनलाई उपलब्ध गराएर सहयोग गरिदिन आग्रह गरे ।

त्यस्तै राष्ट्रिय अनुसन्धान कार्यालय डोटीका प्रमूख डिएसपी हरिष बिष्टले कतिपय अवस्थामा प्रहरी प्रशासनबाट सुनुवाई नभएका विषयमा गुनासाहरु भए आफुलाई पनि जानकारी गराउन सकिने र त्यसको संवोधनका लागि आफुले समन्वय गर्ने बताए ।

पत्रकारका समग्र जिज्ञासा, गुनासा तथा सुझावलाई आत्मसाथ गर्दै अगाडी बढ्ने प्रमूख जिल्ला अधिकारी भट्टराईले प्रतिवद्धता समेत जनाएका छन् ।

Leave A Reply

Your email address will not be published.