नेपालमा एकैदिन १ हजार १ सय ११ जनामा कोरोना पुष्टी
भाद्र ११, काठमाण्डौ ।
नेपालमा पछिल्लो २४ घण्टामा १ हजार १ सय ११ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यससङ्गै कोरोना सङ्क्रमितको सङ्ख्या ३५ हजार ५ सय २९ पुगेको छ ।
पछिल्लो २४ घण्टामा १२ हजार ६ सय २९ जनाको पीसीआर विधिमार्फत कोरोना परीक्षण गर्दा एक हजार एक सय ११ जनामा सङ्क्रमण देखिएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनका क्रममा जानकारी दिए ।
यस्तै गएको २४ घण्टामा पाँच सय ६९ जना कोरोना सङ्क्रमित निको भएर घर फर्किएसँगै डिस्चार्ज हुनेको सङ्ख्या २० हजार ७३ पुगेको छ ।
देशभर १५ हजार २ सय ७३ जना सङ्क्रमित अहिले आइसोलेशनमा रहेका छन् । यस्तै नौ हजार चार सय ८८ जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ ।
यस्तै गएको २४ घण्टामा ८ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या एक सय ८३ पुगेको मन्त्रालयले जनाएको छ ।