विद्याकी देवी सरस्वतीको पूजा गरि आज वसन्त पञ्चमी अर्थात ‘श्रीपञ्चमी’ पर्व मनाईदै
माघ १२, डोटी ।
आज वसन्त पञ्चमी अर्थात ‘श्रीपञ्चमी’ पर्व देशभर विद्याकी देवी सरस्वतीको पूजा आरधना गरी मनाइदै छ। आजैदेखि ऋतुहरूका राजा वसन्त ऋतु सुरु हुने भएकाले वसन्त श्रवण गरिन्छ । चन्द्रमाजस्तो गोरो वर्ण भएकी तथा हातमा वीणा र पुस्तक लिएकी विद्याकी देवी सरस्वतीलाई भक्तजनहरूले भारती, शारदा, हँसवाहिनी, जगन्माता, बागीश्वरी, कौमारी, बरदायिनी, बुद्धिधात्री, ब्रहृमचारिणी, चन्द्रघण्टा र भुवनेश्वरीजस्ता नामले पुकार्ने गर्छन्।
र्सूय उत्तरतिर लागी दिन लामा हुने र वसन्त ऋतु प्रारम्भ हुने भएकोले यस दिनलाई वसन्तपञ्चमी पनि भनिन्छ । हिन्दु धर्मावलम्बीले सरस्वती मन्दिर तथा पुस्तकको पूजा गरेर आराधना गर्छन् ।
आजको दिनलाई बालबालिकालाई अक्षर आरम्भ गराउने सर्वोत्तम दिन मानी आज घरघरमा केटाकेटीहरू पठनपाठन सुरु गराइन्छ । आजको दिन शिक्षक, विद्यार्थी, साहित्यकार, चित्रकार, कलाकार, गायक, नर्तकहरू सबैले आ-आफ्नो कलासाधनाका उपदानहरू कलम, कापी, कुची, वाद्ययन्त्र आदिको पूजा गर्दछन् ।
आज बिहाह गर्दा पूजाको शुभदिन रहेकोले साइत जुराउनु पर्दैन भन्ने परम्परा पनि रहेको छ । बिहान उठ्नेबित्तिकै विद्याभ्यासी सात्विकजनहरू हात हेर्दै भन्ने गर्छन् ‘कराग्रे वसते लक्ष्मी , करमध्ये सरस्वती। करमूले स्थितो ब्रहृमा प्रभाते करदर्शनम् ।।’ अर्थात् हातको अधिल्लो भागमा लक्ष्मी मध्यभागमा सरस्वती र मूल भागमा ब्रहृमाको निवास छ। अतः यही कर्मवादी हातलाई ब्रहृमाको सिर्जनाशीलता, लक्ष्मीको सम्पन्नतालाई जोड्ने र गतिशील संसारलाई मोड्न मध्यभागमा सरस्वतीलाई राखेर सम्मान गर्ने परम्परा रहि आएको छ ।श्रीपञ्चमीका दिन कामदेव र रतिको पनि पूजा गरिन्छ । वसन्तका प्रतीक कामदेव र उनकी स्त्री रतिको विशेष स्मरण गर्ने दिन वसन्तको आगमन उत्सव वसन्तराग गाउने पनि चलन रहेको छ । जीवनलाई शृङ्गारिक बनाउन वसन्त रागले प्रेरणा दिन्छ । काव्यविनोदी, स्रष्टा, सर्जक, साहित्य, कलाका साधकहरूका लागि वसन्तराग साधनाको श्रोत नै हो । कला र गलाका पारखीहरूका लागि सरस्वती साधना गर्ने प्रमुख दिन श्रीपञ्चमी या वसन्त पञ्चमी नै हो ।
प्राचीन भारतवर्षमा साललाई जुन छ ॠतुहरुमा बाँडिन्थ्यो तिनमा वसन्त मानिसहरुको मनपर्दो ॠतु थियो। जब फूलहरुमा बहार आउँथ्यो, जौ र गहूँका बालीहरु लहलहाउँथे, आँपहरुका रुखहरुबाट सुगन्ध फैलिन्थ्यो र चारैतिर रंग-बिरंगी पुतलीहरु उडनथाल्थे। वसन्त ऋतुको स्वागत गर्न माघ महिनाको चान्द्रमाण पञ्चाङ्ग अनुसार पाँचौं दिन एउटा ठूलो उत्सव मनाइन्थ्यो जसमा विष्णु र कामदेवलाई पूजा गरिन्थ्यो, यसैलाई वसन्त पञ्चमीको पर्व भनिन्थ्यो। शास्त्रहरुमा वसन्त पञ्चमीलाई ऋषि पञ्चमी भनेर उल्लेख गरिएकोछ, र पुराण९शास्त्रहरु तथा अनेक काव्यग्रंथाहरुमा पनि अलग-अलग ढंगले यसको चित्रण पाइन्छ। ऋग्वेदमा वाग्देवीका नामले प्रसिद्धि पाएकी ब्रहृमाकी अर्धाङ्गीनी ब्रहृमायणीको पूजा उपासनाले सबै प्रकारको ज्ञान, सिद्धि र सद्बुद्धि प्राप्त हुने भएकाले सरस्वती पूजाको ठूलो महत्व छ । गन्धर्व पुराणमा आजका दिन सरस्वतीको पूजा गरी विद्यारम्भ गरेमा सर्वसिद्धि प्राप्त हुन्छ भन्ने उल्लेख छ ।
आजको दिन प्रायःजसो विद्यालयमा भव्य कार्यक्रम आयोजना गरिएको छ भने सरस्वतीको मन्दिरमा सबै भक्तजनको पुजा अर्चनाको लागि भीड लाग्ने गर्दछ ।