कविता : मदिराको करामत
– डिल बहादुर महरा
उड्दै होस भए झस्याङ्ग छिनमै, ब्यूँझे म ता रातमा
काँप्यो प्राण म ता परेँ सकसमा, थिएन क्वै साथमा
हल्ला धेर थियो र त्रास भरियो, थियो बडा थर्किने
कालो रात थियो भयङ्कर अहो, हेर्दा मनै चर्किने
।।१।।
चर्का दर्द भरे सरी स्वरहरु, सङ्कट परे झैं थिए
होसै उड्न गयो र च्याप्प सितले, यी कान थुनी लिएँ
केही अर्थ बुझेन अल्मल भए, संकट परे झैं थियो
बिग्र्यो नीद तथा अशान्त मन भो, पाएन केही मियो
।।२।।
ढोका सामु बसेर ठिङ्ग बलले, त्यो चाल सुन्दै गए
केहीबेर बसे नियाल्न तिनमै, अल्मल् पना झैं भए
बत्ती बन्द गरेँ बसेँ म डरले, देखेर आयो भनी
आफ्नो आत्म बचाउने तय गरेँ, बोकेर लठ्ठी पनि
।।३।।
यस्तै चाल रह्यो अबेर तक लौ, पाएन टुङ्गोपन
केही बुझ्न सकेन त्रास भरियो, अत्यास लाग्यो झन
गाह्रो भो मन थाम्न, बुझ्नकन लौ, निस्कें म हेर्नै भनी
रक्सी सेवनले थिए सब जना, वेहोस लाशै बनी
।।४।।
ठूलो हूल रहेछ खास ‘मदिरे’, लट्ठै नशामा थिए
रत्ती होश थिएन व्यर्थ मनुवा, बित्पात सोच्दै पिए
बाटोमा छरपट्ट व्याकुल थिए, कोही सडक बीचमा
बान्ताका भलमा थिए वरिपरी, कोही हिलो किचमा
।।५।।
कोही मस्त निदाइ घुर्घुर त्यहाँ, बेहोस जस्तै थिए
पानी मात्र भनेर छट्पट कतै, कोही त भन्दै थिए
के बोल्थे कुन शब्द अर्थ तिनले, सम्झेन गाह्रो भयो
मेरो गाउँ समाज आज अति नै, साह्रै ‘मदिरे’ भयो
।।६।।
गर्खामा सबका दुकान असली, ब्यापार रक्सी सब
बिग्र्यो गाउँ घर रहेन अछुतो, बाँच्ने कसोरी अब
यस्तै हालतमा कयौं जनहरु, दिन रात मर्दैछन
घर् घर् मा झगडा हरेक दिनमा, आतङ्क गर्दैछन
।।७।।
रुन्छन् ती घरका जहान जहिल्यै, हेर्छन् तमासाहरू
भोको पेट अश्यैह्य पीर सबमा, चीत्कार यस्तै अरू
चर्का स्वरहरू सदा घर घरै, अश्लील गालीहरू
गाह्रो भो सहनै र ऐठन भयो, के पो उपाए गरुँ
।।८।।
पत्नीका गहना सबै जति थिए, बेचेर खाए सबै
पुर्ख्यौली धन धान्य खाक क्षणमै, पाईन्न फेरि कवै
गाई वस्तु समेत छैन अब ता, जग्गा उडाए कति
यस्तो हालत यो छुटाउँ कसरी, होला र के औषधी
।।९।।
आओस् ऐन नयाँ सदैव कसिलो, यो देश सच्चा बनी
आओस् है अब राजकाज गतिलो, चाहिन्न कच्चा पनी
रक्सी कै रसपानमा छ दुनियाँ, बस्ने कसोरी यहाँ
प्यारो लाग्छ सुशान्त स्वच्छ नगरी, छोडेर जाउँ कहाँ
।।१०।।
(मदिरे : रक्सी वा मदिरा नभै नहुने लत बसेको तथा मदिरामय भएको अवस्था)