जोरायल गाउँपालिका अध्यक्ष ओझा भन्छन् – “संघ र प्रदेश सरकारसँग पनि प्रश्न गरौँ”
साउन ८, डोटी (जोरायल)।
डोटीको जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले संघीय सरकार र प्रदेश सरकारसँग पनि जनताले प्रश्न सोधेर जवाफदेहीता खोज्नुपर्ने बताएका छन् ।
आइतबार सम्पन्न जोरायल गाउँपालिकाको आर्थिक वर्ष ०७९/०८० को सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागिहरुले सोधेका प्रश्नको जवाफ दिने क्रममा अध्यक्ष ओझाले यस्तो बताएका हुन् । उनले भने-“जनताको आवश्यकता एकातिर हुने तर संघ र प्रदेश सरकारले आफ्ना चाहनाका लागि योजना बनाउने गर्दछन । हामी स्थानीय सरकारले जनतासँग नजिकबाट रहेर काम गर्दछौं । तर संघ र प्रदेश सरकारले तल्लो तहका माग र आवश्यकता प्रती चिन्ता लिनुपर्दैन र ?”
सार्वजनिक सुनुवाइ कार्यक्रममा सहभागी सोपान साउँदले बुडर—जोरायल सडक निर्माणको म्याद सकिँदा समेत काम सुरु नभएको गुनासो गरेपछि अध्यक्ष ओझाले भने ‘सडक हाम्रो क्षेत्रमा बन्दैछ तर ठेक्का प्रदेश सरकारको हो, हामीसंग कुनै प्रकारको सहकार्य/समन्वय छैन ।’ निर्माण कम्पनीलाई र प्रदेश सरकारलाई पटक-पटक लिखित, मौखिक विभिन्न माध्यमबाट आग्रह गर्दा समेत न सरकारले सुनेको न ठेकेदारले मानेको उनले बताए ।
“यो सडक हाम्रो क्षेत्राअधिकारभित्र छैन तर पनि हामीले दवाव दिएका छौँ” अध्यक्ष ओझाले भने ‘अब नागरिकस्तरबाट प्रदेश र संघीय सरकारलाई प्रश्न सोधौँ, जवाफदेहीता खोजौँ ।’
अध्यक्ष ओझाले सार्वजनिक सुनुवाई कार्यक्रममा प्रश्न गर्ने सहभागिहरुलाई धन्यवाद दिँदै गाउँपालिकाका कर्मचारीले सेवा प्रवाहका सन्दर्भमा कुनै दुःख दिएमा सिधैँ आफुसंग सम्पर्क गर्न आग्रह गरे । उनले भने -‘हाम्रो काम जनतालाई सेवा गर्ने हो, हामी सधैँ तयार छौँँ ।’
सार्वजनिक सुनुवाईमा उठेका विषयलाई सुधार गरेर लैजाने जोरायल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशदत्त भट्टले बताए । भट्टले भने ‘जनता/सेवाग्राहीले सिधैँ प्रश्न गरेर हामीलाई सुझाव पनि दिउन् र हामीले गरेको काम जानकारी पनि होस भन्ने हाम्रो उद्देश्य हो, त्यसैले सार्वजनिक सुनुवाईमा उठेका विषय गम्भीरताका साथ कार्यान्वयन गर्छौं ।’
नजर मिडिया प्रा.लि.डोटीको सहजिकरणमा सम्पन्न कार्यक्रममा जोरायल गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी, स्थानीय राजनीतिक दल, संघसँस्था, पत्रकार र विभिन्न स्थानीय सरोकारवालाहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा जोरायल गाउँपालिकाको आर्थिक तथा भौतिक प्रगति प्रतिवेदन योजना शाखा प्रमुख चन्द्र ऐडी र शाखाहरुको प्रतिवेदन शिक्षा शाखा प्रमुख तेज बहादुर खत्रीले प्रस्तुत गरेका थिए ।
त्यस्तै सहजीकरण सँस्थाको तर्फबाट नागरिक प्रतिवेदन पत्र र बहिर्गमन अभिमत प्रतिवेदन सहजकर्ता रामहरि ओझाले प्रस्तुत गरेका थिए ।
सुशासन, जवाफदेहिता, पारदर्शिता र जन सरोकारका विषयमा जोरायल गाउँपालिकाले सामाजिक परीक्षण, सार्वजनिक परीक्षण, सार्वजनिक सुनुवाइ, गुनासो पेटिका, वहिर्गमन अभिमत पुस्तिका लगाएतका अभ्यासलाई निरन्तरता दिएको पाइएको सहजकर्ता कर्ण चन्दले बताए ।
कार्यक्रममा उठेका सवालबारे जोरायल गाउँपालिका अध्यक्ष दुर्गादत्त ओझा, उपाध्यक्ष जमुना बोहरा, प्रमुख प्रशासकीय अधिकृत गणेशदत्त भट्ट लगाएत विभिन्न वडा अध्यक्षहरु, शाखा प्रमुखहरु लगाएत जवाफदेही वक्ताहरूले प्रष्टिकरण दिएका थिए भने सहभागीहरुलाई उपाध्यक्ष जमुना बोहराले स्वागत गरेकी थिइन् ।