कविता शीर्षक – ‘हा थु.. तिम्रा राजनीति….’

380

– गिता ‘स्मृति’ कठायत

आउनुस एक कप
मिठो चियासंगै
यो देशको बिर्सन लायक
राजनैतिक
इतिहास
सत्ताको निम्ति
छिनालेका गर्धन
शक्तिको लागि बनेका
रगत पोतिएका
रंगिन चलचित्र
उठाउ पर्दा आज
र गरौ हिसाबकिताब
एकसाथ
बिहानको एक कप
मिठो चियासंगै

कुन उदाहरण दिउँ ?
किर्तिपुरमा छिनेको
कालू पाण्डेको शिर
देउथलमा रेटिएको
भक्ति थापाको गर्धन
गगन सिंहको छाती
चिरेर निस्केको गोली
रणोदिप र जगतजंगका
मुटु र कलेजाहरु
च्यातेर लेखिएको
क्रुद्ध इतिहास ।

कुन उदाहरण दिउँ ?
राजाहरुका निम्ति
गरिएको एकीकरण
राणाहरुका निम्ति
घटाइएको कोतपर्व
सत्ता शक्तिको निम्ति
गरिएको दरबार
हत्याकाण्ड
सर्वहारा वर्गको निम्ति
लडेको सशस्त्र जनयुद्ध ।

कुन उदाहरण दिउँ ?

यही देशमा
अंग्रेजको पन्जाबाट
देश बचाउने
भिमसेन थापाको
सर्वस्व हरण गरियो
यही देशमा
देशको निम्ति बोल्ने
धर्मभक्त गंगालालहरुलाई
खरिमा झुन्ड्याइयो
यही देशमा
सर्वहाराको
आवाज बुलन्द गर्ने
मदन भण्डारीलाई
दासढुङ्गामा खसाइयो ।

कुन उदाहरण दिउँ ?
छ र यो देशको राजनीति
पढ्न लायक ?
छ र यो देशको राजनीति
सम्झिन लायक ?

कुन राजा खोज्छौ ?
ए राजतन्त्रका मलामीहरु
कुन गणतन्त्र भन्छौ ?
ए बहुदलका छाउराहरु
देश त उहिले नै मरिसक्यो
राजा उहिल्यै मरिसक्यो
जुन दिन
भिमसेन थापाको
सर्वस्व हरण गरियो
जुन दिन विरेन्द्रको
वंशनास भयो
अरे देश त
उहिले नै मरेको हो
अपुतो भएको हो
खाउ अपुताली मिलेर
देशका निम्ति मर्ने मरिसके
तिमीहरु लुट हौ
मुखौटा हौ
बुख्याँचा हौ

कसैले महाकाली बेचे
कसैले टनकपुर बेचे
कसैले नालापानी
कालापानी बेचे
हुँदा हुँदै आज
विराटनगर जुटमिल काण्ड
त्यसै सेलाइयो
मेलम्ची काण्ड
एनसेल कर प्रकरण
बालुवाटार काण्ड
त्यसै दबाइयो
लडाकु शिविर घोटाला
भुटानी शरणार्थी काण्ड
गुम्नाम भए
वाइडवडी न्यारो वडी
ललितानिवास काण्ड
ओम्नी काण्ड
सुन काण्ड, चिनी काण्ड
एमसिसी पास प्रकरण
सबका सब
राजनीतिको गर्भभित्र
भुमिगत छन

किन आजसम्म
दासढुङ्गा प्रकरणका
दोषीहरु खोजिएन ?
किन दरबार हत्याकाण्डका
पर्दाहरु
माथी उठाइएन ?
काण्डै काण्डको देश
प्रकरणै प्रकरणको देश
सुनमा राजनीति
नुनमा राजनीति
सगरमाथाको देशको
चिरहरण
गौतम बुद्धको देशको
बलात्कार
अरुको देशमा
चमत्कारमाथी
चमत्कार गरिन्छ
हाम्रो देशमा
बलात्कारमाथी
बलात्कार गरिन्छ

तिमीहरु बस
देशको बलात्कार गर्न
जन्मेका हौ
अरुको देशमा राजनीति
धर्म हो सेवा हो
देशको किस्मत लेख्ने
लोकसेवा हो
हाम्रो देशमा राजनीति भनेको
चुट्किला हो
लुट हो भ्रष्टाचार हो
बलात्कार हो
गर राजनीति
उडाउ धज्जिया
वीर गोर्खाली इतिहासको
र ताण्डव गर
गर्वका साथ
हामीले संविधान लेख्यौ भनेर….
हा थु.. तिम्रा राजनीति………

लेखक डोटेली साहित्य प्रतिष्ठानका अध्यक्ष पनि हुन् ।

Leave A Reply

Your email address will not be published.