छ्पालीमा प्रसुती गृहको भवन निर्माण अलपत्र, टिनको छानामुनि सुत्केरी सेवा

1,189

प्रेम नेपाली
बैशाख १९, डोटी ।
डोटीको सायल गाउँपालिका वडा नम्बर १ छपालीमा प्रसुती गृहको भवन निर्माण कार्य लामो समयदेखि अलपत्र परेको छ । भैरव शक्ति निर्माण सेवाले ठेक्का लिएको उक्त छपाली स्वास्थ्य चौकीको प्रसुती गृहको भवन निर्माण कार्य अलपत्र परेको हो ।
समयमै प्रसुती गृहको भवन निर्माण कार्य नभएपछि स्थानीय गर्भवती तथा सुत्केरी महिला टिनको छानामुनि स्वास्थ्य सेवा लिन बाध्य भएका छन् ।
आफू सङ्ग सेवा दिनका लागि उपयुक्त तथा पर्याप्त भवन नहुँदा भुकम्पले छेदबिच्छेद पारी जिर्ण रहेको पुरानो टिनको छानामा सबै खाले स्वास्थ्य सेवा दिइरहेका छपाली स्वास्थ्य चौकी प्रमुख हेल्थ असिस्टेन्ट पुनम भट्टले जानकारी दिइन् ।
यस विषयमा आफुले पटक-पटक गाउँपालिकाको कार्यपालिका बैठकमा आवाज उठाउनुका साथै जिम्मा पाएको निर्माण कम्पनीलाई यथासिघ्र भवन निर्माण गर्नुपर्ने र नगरे सम्झौता रद्ध गर्नुपर्ने सायल गाउँपालिका वडा नम्बर १ का अध्यक्ष लाल बहादुर रोकायाले बताए । उनले भने-” कि त समयमै बनाइनुपर्छ । होइन भने हामिलाई आफ्नै तरिकाले काम गर्न पाउने वातावरण निर्माण गरिदिनुपर्छ ।” तर सायल गाउँपालिकाले पनि हालसम्म सम्झौता अनुसार कानुनी जटिलता रहेको र रद्द गर्दा पनि बजेट ब्यवस्थापन गर्न गाह्रो हुने भन्दै कुनै निकास दिन नसकेको रोकायाले गुनासो गरे ।
भैरव शक्ति निर्माण सेवा सङ्ग कूल ४० लाख ८० हजार ७ सय ९९ रुपैयाँ ९५ पैसा लागतमा २०८० असारभित्र सम्पन्न गर्ने गरि सम्झौता भएको थियो । तर उक्त भवनको हालसम्म अनुमानित ७० प्रतिशत काम भएर अलपत्र छ ।
उक्त भवन निर्माण गर्दा त्यहाँका स्थानीय कामदारहरुले काम गरेको पैसा समेत नपाएको गुनासो गरेका छन् । भवनको लागि ढुङ्गा निकालेवाफत धन बहादुर रोकायाको समुहले रु.१ लाख ५० हजार, भवन प्लस्टर गरेवाफत बिर बहादुर रोकायाको समुहले रु.३० हजार, भवन निर्माणको खाल्टो खनेवाफत लाल बहादुर थापाको समुहले रु.४६ हजार, खच्चडमार्फत गिट्टि बालुवा ढुवानी र होटेलमा खाना तथा बास बसेवाफतको राम बहादुर थापाले रु.२ लाख ८० हजार रकम नपाएको उनीहरुको दुखेसो छ । त्यस्तै प्रकाश थापाको पसलबाट समान तथा नगद मागेको गरी रु.१८ हजार, तिलक थापाको ट्र्याक्टरमा बालुवा ढुवानी र होटेलमा गरेर रु.१ लाख ५५ रुपैयाँ, टेक बोगटीको समुहले भवन निर्माण गरेवाफत रु.४ लाख ९२ हजार गरि जम्मा ११ लाख १६ हजार ५५ रुपैयाँ उक्त निर्माण सेवाले तिर्न बाँकी रहेको देखिएको छ।
उक्त प्रसुती गृहको भवन निर्माणको ठेक्काको काम शिव शक्ति निर्माण सेवाका संचालक शिव खड्काले लिएको भए पनि सहायक ठेकेदार तेज खड्कालाई जिम्मा दिइएको र कामदारहरुको पैसा नतिरेर भारततर्फ लागेको कामदारहरु बताउँछन् ।
यता भैरव शक्ति निर्माण सेवाका संचालक शिव खड्काले भने आफुले गाउँपालिकालाई ३२ लाखको बिल पेश गरेको तर बजेट अभावको कारण देखाउँदै २१ लाख मात्र भुक्तानी पाएको बताएका छन् । त्यसै बेलामा आफुले सबैको पैसा दिईसकेको र कतै बाँकी रहेको भए आफुलाई जानकारी नभएको बताए ।
आफुले पटक-पटक सायल गाउँपालिकालाई बजेट ब्यवस्थापन तथा म्याद थप गरि माग्दा हालसम्म कुनै पनी कार्य नगरिदिएको भन्दै गाउँपालिकाले सहयोग गरेमा स्वास्थ्य जस्तो संवेदशिल क्षेत्रमा इमान्दार भएर काम गर्ने बताए खड्काले बताए ।
यस विषयमा सायल गाउँपालिका अध्यक्ष धर्मराज जोशीलाई बुझ्दा आफु पालिकामा निर्वाचित भएर आईसकेपछी पालिकाको तर्फबाट उक्त भवन निर्माण कार्यको जिम्मा पाएको भैरव शक्ति निर्माण सेवालाई पटक-पटक पत्राचार गर्दा पनि भवन निर्माण कार्य सम्पन्न नगरेको, धेरै लामो समयसम्म सम्पर्कमा नै नआएको बताए । त्यसैगरी प्रदेशमार्फत आएको बजेटबाट गर्नुपर्ने काम सम्झौता अनुसार समयमा गर्न नसकेको र पालिकाले दायित्व लिएर बिनियोजन गरिएको बजेटको पनि समयमा काम गर्न नसकेको हुँदा आगामी नयाँ आर्थिक वर्षमा उक्त निर्माण सेवा बारे कानुनी उपचारको बाटो खोजी सायल गाउँपालिकामार्फत नै भवन निर्माण कार्य सम्पन्न गर्ने अध्यक्ष जोशीले बताए ।
त्यस्तै कामदारहरुले काम गरेको पैसा पनि पाउनुपर्ने र नपाएको भएमा कानुनि उपचार खोज्न कामदारहरुलाई पनि अध्यक्ष जोशीको सुझाव छ ।

Leave A Reply

Your email address will not be published.