जोरायल ४ को प्रथम वडा अध्यक्ष कप भलिबल प्रतियोगिताको उपाधी वडा नम्बर १ लाई

1,192

बैशाख २०, डोटी ।
डोटीको जोरायल गाउँपालिका वडा नं. ४ द्वारा आयोजित गाउँपालिका स्तरीय “प्रथम वडा अध्यक्ष कप पुरुष भलिबल प्रतियोगिता” को उपाधी वडा नम्बर १ ले हात पारेको छ ।
शनिबार बिहान सम्पन्न फाइनल खेलमा वडा नं. ६ को टिमले दोस्रो स्थान ओगटेको छ ।
त्यस्तै हिजो शुक्रबार बेलुकी सम्पन्न खेलमा वडा नम्बर ५ ले तेस्रो स्थान ओगटेको छ भने वडा नम्बर ३ ले सान्त्वना स्थान ओगटेको छ ।
वैशाख १८ र १९ गतेका लागि आयोजित प्रतियोगिता संचालनका बेला शुक्रबार पानी परेपछि खेल तालिका प्रभावित भएको थियो ।
घण्टेश्वर माध्यमिक विद्यालय, कुँडीकोटको खेलमैदानमा सम्पन्न प्रतियोगितामा जोरायल गाउँपालिकाका ६ वटै वडाको टिम सहभागिता रहेकोे थियो ।
प्रतियोगितामा प्रथम टिम वडा नम्बर १ ले नगद रु.१८ हजार, द्वितीय टिम वडा नम्बर ६ ले रु.१२ हजार, तृतीय टिम वडा नम्बर ५ ले रु.८ हजार र सान्त्वनामा वडा नम्बर ३ को टिमले रु.४ हजार पुरुस्कार हात पारेका छन् । यसका साथै विजयी टिम तथा खेलाडीलाई ट्रफी, मेडल र प्रमाणपत्र पनि प्रदान गरिएको जोरायल गाउँपालिकाका खेलकुद प्रशिक्षक पवन कुमार शाहुले जानकारी दिए ।
प्रतियोगिताका विजेता, उपविजेता खेलाडीहरुलाई कार्यक्रमका प्रमुख अतिथि जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझा, उपाध्यक्ष जमुना बोहरा लगाएतले पुरुस्कार वितरण गरेका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले खेलाडीहरुलाई बधाई दिदै गाउँपालिकाले निरन्तर खेल क्षेत्रमा सहयोग गर्दै आएको र फ़ेरि पनि निरन्तरता दिने प्रतिबद्धता जनाए ।
जोरायल आफैंमा खेलकुदमा अगाडी रहेको क्षेत्र भएको र खेल तथा खेलाडीको विकासका लागि सहयोग पुर्याउने उद्देश्यले वडा अध्यक्ष कपको आयोजना गरिएको आयोजक जोरायल गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष नन्दराज भट्टले बताए । प्रतियोगिता सम्पन्न गर्न सहयोग गर्ने सबैलाई धन्यवाद दिदै यसपटकको अनुभव तथा सिकाइका आधारमा आगामी प्रतियोगिता थप व्यवस्थित ढंगले अगाडि बढाउने पनि वडा अध्यक्ष भट्टले प्रतिबद्धता जनाए ।
एफआईभिबी र नेपाल भलिबल संघको नियमानुसार प्रतियोगिताका खेलहरु खेलाइएको थियो ।

Leave A Reply

Your email address will not be published.