धनगढी–दिपायल `फास्ट ट्र्याक´ सडकखण्डमा ५ पक्की पुलको ठेक्का प्रक्रिया अघि बढाइयो
असोज १५, डोटी ।
धनगढी–खुटिया–दिपायल–चैनपुर–उरैभञ्ज्याङ सडक आयोजना अन्तर्गत डोटी खण्डका विभिन्न पाँच वटा खोलामा पक्की पुल निर्माण हुने भएको छ। आयोजना कार्यालयले बिहीबार एक सूचना प्रकाशित गरी ‘डिजाइन एन्ड बिल्ड’ (Design and Build) मोडलमा पुल निर्माणका लागि शिलबन्दी बोलपत्र आह्वान गरेको छ।
भौतिक पूर्वाधार विकास मन्त्रालय, सडक विभाग अन्तर्गतको सङ्घीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय डोटीले राष्ट्रिय प्रतिस्पर्धी बोलपत्र (NCB) प्रक्रियामार्फत काम अघि बढाउन लागेको हो।
आयोजना कार्यालयका अनुसार सडकखण्डको डोटी भागमा पर्ने जारीमघाट खोला, गुनाडी खोला, सानीगाड खोला, हानीगाड खोला र सायलीगाड खोलामा नयाँ पक्की पुलहरू निर्माण गरिनेछ।
बोलपत्र प्रक्रियामा सहभागी हुनका लागि निर्माण व्यवसायीको पछिल्लो १० वर्षमध्ये उत्कृष्ट ३ वर्षको औसत वार्षिक कारोबार कम्तीमा २७ करोड १० लाख रुपैयाँ हुनुपर्ने शर्त राखिएको छ। साथै, उस्तै प्रकृतिको एक मोटरयोग्य पुल निर्माणमा कम्तीमा २४ करोड ४० लाख रुपैयाँ बराबरको काम गरेको अनुभव हुनुपर्नेछ।
बोलपत्रदाताहरूले ‘एक चरण दुई खाम’ (Single Stage Two Envelope) विधिबाट प्राविधिक र आर्थिक प्रस्ताव छुट्टाछुट्टै पेश गर्नुपर्नेछ।
आयोजनाले आगामी असोज २३ गते (अक्टोबर ९) कैलालीको गोदावरीस्थित सम्पर्क कार्यालयमा प्रि-बिड बैठक तय गरेको छ। इच्छुक कम्पनीहरूले कात्तिक ११ गते (अक्टोबर २८) मध्याह्न १२ बजेसम्म बोलपत्र पेश गर्न सक्नेछन् भने सोही दिन दिउँसो २ बजे बोलपत्र खोलिनेछ।
यस क्षेत्रमा पाँचवटा पक्की पुल निर्माण भएपछि धनगढीबाट दिपायल तथा सुदूरपश्चिमका पहाडी जिल्लाहरूसँगको यातायात पहुँच थप सहज र सुरक्षित हुने विश्वास लिइएको छ।
यसैबीच, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) डोटीका सहसचिव तथा संगठन विभाग प्रमुख डिल्लीराज भट्टले आयोजनासँग जोडिएको पहलप्रति धन्यवाद व्यक्त गरेका छन्। भट्टले रास्वपा केन्द्रीय सदस्य जानिका जोशीलाई साथ र पहलका लागि धन्यवाद दिँदै भनेका छन्, “माननीय मन्त्रीज्यू तथा आदरणीय विज्ञ सल्लाहकार दिनेश रावतज्यूलाई विशेष धन्यवाद।”
उनले डोटीको विकासप्रति ध्यान दिएकोमा भौतिक पुर्वाधार विकास मन्त्री सुनिल लम्साललाई धन्यवाद दिँदै “डोटीको कामलाई गति दिनुभएकोमा विशेष धन्यवाद। डोटीबाट झिक्कै–झिक्कै माया, मनैदेखि सम्मान” भनेका छन्।
यस अघि असोज १ गते सरकारले धनगढी–खुटिया–दिपायल–चैनपुर–उरैभञ्ज्याङ सडक आयोजना अन्तर्गत डोटी खण्डको सडक स्तरोन्नति तथा संरचनागत कामका लागि टेन्डर प्रक्रिया अघि बढाइसकेको छ।
सडक विभाग अन्तर्गतको धनगढी–खुटिया–दिपायल–चैनपुर–उरैभञ्ज्याङ सडक आयोजनाले चेनिज ५३ हजार ८०० देखि ६५ हजारसम्मको सडकलाई कालोपत्रे सडक सतह तथा संरचनागत कार्यसहित स्तरोन्नति गर्न बोलपत्र आह्वान गरेको थियो।
सडक सतह तथा संरचनागत कार्यसहित स्तरोन्नति गर्न बोलपत्र आह्वान भए पनि फास्ट ट्र्याक अन्तरगतका पुलको ठेक्का प्रक्रियाको सूचना प्रकाशन नहुदासम्म काठमाडौबाट जिल्ला नफर्किने बताएका रास्वपा डोटीका सहसचिव भट्टले अब भने जिल्लामा फर्किने नजर अनलाइनलाई बताएका छन् ।