कविता : सेवा
– डिल बहादुर महरा
सेवा नै सत्कर्म हो मनुजको, सन्तोष संसार हो ।
सेवा नै धन धर्म सार रसिलो, जीवन्त आधार हो ।।
सेवा सर्व सखा अनन्य जनको, हो मित्र भ्राता पनी ।
सेवा जीवन हो समस्त जगमा, हो शुद्ध नाता पनी ।।
।।१।।
सेवा प्रेम मिलाप आत्म भरको, मिष्ठान्न आहार हो ।
सेवा सत्य स्वरूप ज्ञान भरिलो, आलोक उद्गार हो ।।
सेवा धर्म बचाउने गुण कथा, साकार सत्साधना ।
सेवा ईश्वरको सचित्र उपमा, पुण्यात्मको वासना ।।
।।२।।
सेवा राम र कृष्ण वीर जन झैँ, साक्षात त्यो शास्त्र हो ।
सेवा शंकर विष्णु सङ्ग रहने, प्रख्यात ब्रह्मास्त्र हो ।।
सेवा नै भगवानको उपज हो, लीला सरी सुन्दर ।
सेवा रङ्ग सजाउने लहर हो, विश्वासको सागर ।।
।।३।।
सेवा दान र पूण्य सिर्जन हुने, उत्साहको पावनी ।
सेवा कान्ति दिलाउने जगतमा, सौहार्द सौदामिनी ।।
सेवा शान्ति फिँजाउने अमरता, सत्मार्गको चेतना ।
सेवा हिड्दछ ग्राम–ग्राम नगरी, सुन्दै सदा वेदना ।।
।।४।।
सेवा उच्च र नीच भाव पनमा, जान्दैन लुच्चा हुन ।
सेवा प्रेरित गर्छ शुद्ध मनमा, सन्ताप सच्च्याउन ।।
सेवा औषध हो समृद्ध सबको, पञ्छाउने रुग्णता ।
सेवा तन्त्र र मन्त्र सार जगको,बर्षाउने पूर्णता ।।
।।५।।
सेवा विश्व हँसाउने अजवको, सोच्छन्द विज्ञान हो ।
सेवा शान्त रमाउने कथनको, लालित्यको ज्ञान हो ।।
सेवा चिन्न सके चिनिन्छ दुनियाँ, हो स्वर्गको नन्दन ।
सेवा तुन्न सिकौँ बनौँ रस मयी, रोज्दै गरौँ वन्दन ।।
।।६।।
(लेखक डोटीको शिखर नगरपालिकामा अधिकृत छैटौं पदमा कार्यरत हुनुहुन्छ ।)