बुधबार पनि दिपायल सिलगढी नगरपालिकाद्वारा बजार अनुगमन

थुप्रै अखाद्य सामान बरामत

493

झलक पाली

असोज २८, डोटी ।

डोटीको दिपायल सिलगढी नगरपालिकाको संयोजनमा बुधबार पनि बजार क्षेत्रमा सर्वपक्षीय अनुगमन गरिएको छ ।
नगरपालिकाको वडा नं. ४ मा पर्ने पिपल्ला बजार क्षेत्रका पसलहरुमा गरिएको अनुगमनमा हजारौं मूल्य बराबरका म्याद नाघेका अखाद्य सामानहरु बरामत गरिएको छ ।
दिपायल सिलगढी नगरपालिकाका उप–प्रमूख तथा अनुगमन समिति संयोजक शिवराज खड्का नेतृत्वको अनुगमन टोलीले शिव ओम ट्रेडर्सबाट म्याद नाघेका प्राउन पार्ट टोक्रेकर ३० पिस, पार्लेजी बिस्कुट २ पोका, दालमोट ६ प्याकेट, सेन्चुरी मसला १० प्याकेट, ३ डिब्बा मिठाई रसबरी र ५ प्याकेट जिरा बरामद गरेको छ ।
त्यस्तै घटाल सप्लायर्सबाट ७ बोत्तल किङ्गफिसर नामक बियर, प्रेम किराना पसलबाट बच्चाले खाने टोलुभोलु चकलेट १ डिब्बा, सनपापडी मिठाई ३ डिब्बा, गोलगप्पा चिप्स १८ प्याकेट र आधा कट्टा सोयाबिन पनि म्याद नाघेको अवस्थामा बरामद गरिएको छ ।


यसैगरी महाजन श्रृङ्गार तथा किराना पसलबाट छोहरा १ के.जि., हर्लिक्स ५ डिब्बा, गोल चिप्स ७३ प्याकेट, मिट मसला ५ प्याकेट, गोलमोल क्रेकर ४ प्याकेट र नमकिन २ प्याकेट म्याद नाघेका तथा तिथि मिति उल्लेख नभएका सामान बरामद भएको अनुगमन टोलीले जनाएको छ ।


त्यस्तै वायल जनरल स्टोरबाट बिना मितिको पेय पदार्थ १७ बोत्तल फेन्टा, १ बोत्तल, ड्राइगन बियर, १ बोत्तल कोकाकोला र ६ पसि आइसक्रिम बरामद गरेको छ भने केहि समय पहिलेबाट दर्ता बिना कुनै कानुनी प्रक्रिया पूरा नगरी सञ्चालनमा आएको सयन बिजुली रिपेयरिङ्ग सेन्टर आवश्यक प्रक्रिया पूरा नगरुञ्जेलसम्मका लागि बन्द गरिएको छ ।


व्यापारीहरुले मूल्य सुची नराख्ने, व्यवसाय दर्ता नै नगर्ने, म्याद नाघेका र तिथिमिति नभएका सामान विक्रिवितरण गर्ने, सरसफाईमा ध्यान नदिने लगाएत विषयमा प्राय अटेरी गर्ने गरेकाले अब अनिवार्य जरिवाना तिर्नुपर्ने गरी अनुगमन गर्नुपर्ने निष्कर्ष निकालेको छ ।

बुधबारको अनुगमन टोलीमा दिपायल सिलगढी नगरपालिकाका उपप्रमूख खड्कासँगै, प्रमूख प्रशासकीय अधिकृत खेमराज गुरुङ्ग, सामाजिक विकास अधिकृत रमेशचन्द्र जोशी, ना.सु.हरिसुन्दर श्रेष्ठ, जिल्ला प्रशासन कार्यालय डोटीका प्रशासकीय अधिकृत शिव कुमार राई, खाद्य प्रविधी तथा गुण नियन्त्रण डिभिजन कार्यालयका निमित्त कार्यालय प्रमूख निराजन मगर, डोटी उद्योग वाणिज्य संघका सचिव लक्ष्मी श्रेष्ठ, इलाका प्रहरी कार्यालय दिपायलका प्रतिधिी र पत्रकारहरुको सहभागिता रहेको थियो ।
हिजो मंगलबार नगरपालिकाको वडा नं. २ र ३ मा पर्ने एअरपोर्ट बजार क्षेत्रमा अनुगमन गरिएको थियो ।

Leave A Reply

Your email address will not be published.